कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

कैलाली -१ मा गठबन्धनको अवस्था बलियो

कैलाली -१ मा गठबन्धनको अवस्था बलियो
Spread the love

कैलाली, १३ कार्तिक ।। स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा कैलाली क्षेत्र नं. १ मा गठबन्धनको अवस्था बलियो देखिएको छ । क्षेत्र नं. १ अन्र्तगतका वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणाम अनुसार गठबन्धनको पक्षमा २० हजार २४८ मत देखिन्छ । क्षेत्र नं. १ मा टीकापुर नगरपालिकाका ९, भजनी नगरपालिकाका २, जानकी गाउँपालिकाका ५ र जोशीपुर गाउँपालिकाका ७ गरी २३ वडा छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवार रहेका वडाध्यक्षहरुले प्राप्त गरेको मत १३ हजार ५३० र नेकपा माओवादीका वडाध्यक्षहरुले प्राप्त गरेको मत ६ हजार ७१८ रहेको छ । यसमा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले प्राप्त गरेको मत समेत जोडिएको छ ।

मत परिणाम अनुसार दोस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । सो पार्टीका वडाध्यक्षहरुले प्राप्त गरेको मत १७ हजार १९३ रहेको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेका वडाध्यक्षको मत ९ हजार ८८२ रहेको छ ।

क्षेत्र नं. १ अन्र्तगत टीकापुर नगरपालिकाका नौ वडामा प्राप्त मत अनुसार सबैभन्दा धेरै नागरिक उन्मुक्तिले ७ हजार १३९ मत प्राप्त गरेको छ । उसले दुईवटा वडामा जितेको छ ।

गठनबन्धनमा आवद्ध नेपाली काँग्रेस र नेकपा माओवादीले तीन/तीन वडाध्यक्ष जितेका छन । उनीहरु मध्ये काँग्रेसले ६ हजार ९६७ र माओवादीले ३ हजार ७१२ मत पाएको छ ।

सबैभन्दा धेरै मतदाता रहेको वडा नं. १ मा मात्रै जित हात पारेको एमालेले ४ हजार ७०४ मत प्राप्त गरेको छ । जोशीपुर गाउँपालिकाका ४ वडामा जित हात पारेको नागरिक उन्मुक्तिले ४ हजार ६२८ मत पाएको छ । बाँकी तीन वटा वडामा नेकपा एमाले, माओवादी र जसपाले एक/एक वडा जितेका छन् । कुनैपनि वडा नजितेको काँग्रेसले ३ हजार ६४३ मत पाएको छ ।

त्यस्तै नेकपा एमालेले २ हजार ११७, माओवादीले १ हजार ३३९ मत प्राप्त गरेको छ । जोशीपुरमा राप्रपाका वडाध्यक्षले १ हजार ५८८ र जनता समाजवादी पार्टीले ९४७ मत पाएको छ ।

क्षेत्र नं. १ मा ५ वटा वडा मात्रै रहेको जानकी गाउँपालिकामा समेत नागरिक उन्मुक्तिले नै सबैभन्दा धेरै मत पाएको छ । उसले ३ हजार ६१७ मत प्राप्त गरेको छ । यहाँ एमालेको मत दोस्रो स्थानमा छ । उसले २ हजार ७३५ मत पाएको छ । काँग्रेसले २ हजार ४७५ र माओवादीले ८३७ मत प्राप्त गरेको छ ।

त्यस्तै भजनी नगरपालिकाका दुईवटा वडा समेत क्षेत्र नं. १ मा पर्छन । जहाँ नागरिक उन्मुक्ति एक्लैले १ हजार ८०९ मत पाएको छ । जहाँ माओवादीले ८३०, जसपाले ६४६, राप्रपाले ६३२, काँग्रेसले ४४५ र एमालेले ४२६ मत पाएको छ ।

२०७४ को आम निर्वाचनमा रेशमलाल चौधरीले प्राप्त गरेको मत भन्दा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उनी संरक्षित नागरिक उन्मुक्ति पार्टीले प्राप्त गरेको मत आधा मात्रै छ । चौधरीले ३४ हजार ३४१ मत प्राप्त गरेका थिए । उनी तत्कालिन निर्वाचनमा राष्टिय जनता पार्टीबाट चुनाव लडेका थिए । उनले प्राप्त गरेको मत अरु सबै उम्मेदवारले प्राप्त गरेको मत भन्दा धेरै थियो ।

स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी गठन गरियो । सो पार्टीले कैलालीका चार पालिकाको प्रमुख जितेको छ । तर चौधरीले प्राप्त गरेको मत स्थानीय तह निर्वाचनमा आधा घटेको देखिन्छ ।

वडाध्यक्षले प्राप्त गरेको मतलाई मात्रै सुरक्षित गर्न सके गठनबन्धनले जित्ने आँकलन गर्न थालिएको छ । गठनबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजनम चौधरीले आफ्नो जित निश्चित रहेको दाबी गरे ।

उनले नागरिक उन्मुक्तिको पछिल्लो क्रियाकलाप परिवारमुखी भएको जनगुनासो बढ्दै गएको बताए । उनले टीकापुर घटना कुनै एक व्यक्तिको मात्रै नभई सो घटनासँग जोडिएका सबैको साझा मुद्दा भएको बताए । उनले टीकापुर घटनाको राजनीतिक अवतरण भए मात्रै आरोपी सबैले न्याय पाउने बताए । हाम्रो पत्र अनलाइनबाट

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD