कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

कठरिया थारुहरुले आज आफ्नै परम्परा अनुसार “बन्ना अतबार” मनाउँदै

कठरिया थारुहरुले आज आफ्नै परम्परा अनुसार “बन्ना अतबार” मनाउँदै
Spread the love

भाद्र २७, पहलमानपुर ।। कैलालीमा प्रमुख बासोबास रहेको कठरिया थारु समुदायले आज “बन्ना अतबार” मनाईरहेका छन् । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको बन्ना अतबार आफ्नै परम्परा अनुसार सो समुदायले मनाई रहेका हुन् ।

भाद्र शुक्ल पक्क्ष (उजेरी) पछिको पहिलो आईतबारलाई कठरिया थारु समुदायमा “बन्ना अतबार” को रुपमा मनाउने चलन छ । यसलाई कठरियाहरुले चाडपर्व भन्दा पनि एउटा पुजाको रुपमा मनाउने गर्दछन् ।

आजको दिन आफुहरु बिहानै उठेर नुहाइ धुवाइ गरि एक थोपा पानी समेत नखाई ब्रत बस्ने गरेको घोडाघोडी न.पा. ११ सिसैयाका छेदालाल कठरियाले बताए । दिन ढलेपछि सांझपख भान्सा भन्दा बाहिर सफा ठाउं उसार (बरण्डा) मा गाईको गोबरले लिपपोत गरि खानाको रुपमा भात पकाउने गरेको कठरिया बताउँछन् ।
खानाको परिकार को रुपमा भात, कच्चि मिठाइ (भेली) र घ्यु हुने गर्दछ । पहिला घरका जो–जो सदस्यहरु ब्रत बसेका हुन्छन् तिनको भाग भात, कच्चि मिठाई र घ्यु थालमा पस्केर राखिन्छ, भजनी न.पा. ७ चर्राका दिलबहादुर कठरियाले बताए ।

यस्तै, ब्रतालुहरु बलेको कण्डी (सुकाएको गाईको गोबर) मा सररी काठको चुक्सि (सल्ला काठको चोइला) धुपको रुपमा लिने साथमा भात, कच्ची मिठाई, घ्यु, दुध र पानी चढाएर अगेरी (अग्नी पुजा) गर्ने गरेको कठरियाले बताए ।

अगेरी (अग्नी पुजा) गरिसकेपछि कच्चि मिठाई तथा घ्यु संग भात, खाइ ब्रतालुहरु आफ्नो ब्रत खोल्ने गर्दछन् । यस दिन ब्रत बसेकाहरु नुन, खुर्शानी लगायत कुनै पनि मसला तथा तरकारि नखाने र मिठाई तथा घ्यु भात प्रसादको रुपमा गाउँभरि बाँड्ने चलन यो समुदायमा रहि आएको छ ।

अर्को दिन भोली पल्ट बिहान सबेरै उठेर सुर्य उदाइ सकेपछि नुहाइ धुवाइ गरेर कण्डिको आगोमा सररी (सल्ला काठको चोइला) धुपको रुपमा चढाएर पानीले अगेरी (अग्नी पुजा) गरिसकेपछि कठरिया थारु समुदायको बन्ना अतबारको ब्रत तथा पुजा पुरा हुने गरेको कठरिया बुद्धिजिवीहरु बताउँदछन् ।

कठरिया थारु समुदायमा बन्ना अतबारको पुजाको ठुलो महत्त्व रहेको छ । यसलाई आजको दिन डगौंरा थारु समुदायले भने अट्वारी पर्वको रुपमा मनाई रहेका छन् ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD