कैलाली, ३० भदाैं ।। हेटौंडाकी एक बालिका बुधबारदेखि एकाएक चर्चामा आएकी छन्। साउथ ईण्डियाको ‘पुष्पा’ फिल्मको ‘सामी सामी’ बोलको गीतमा नाचेको भिडियो भाइरल भएसँगै उनी चर्चामा आएकी हुन् ।
हेटौँडा–९, सिमेन्ट रोड स्थित रसल एकेडेमीको युकेजीमा पढ्दै आइरहेकी स्थानीय बरिसा क्षेत्रीलाई बुधबारदेखि भारतका चर्चित कलाकार तथा कोरियोग्राफरले भेट्ने ईच्छा व्यक्त गरिरहेका छन्। करिब चार महिनाअघि एकेडेमी परिसरमै भएको एक कार्यक्रममा नृत्य प्रदर्शन गरेको भिडियो टिकटकमा भाइरल भएको थियो। उनको भिडियो भाइरल भएपछि भारतका ब्लकबष्टर फिल्महरु ‘पुष्पा’, ‘कमरेड’मा अभिनय गरेर चर्चामा आएकी नायिका रश्मिका मन्दनाले बुधवार आफ्नो आधिकारिक ट्वीटरमा भिडियो शेयर गर्दै भेट्ने ईच्छा व्यक्त गरेकी थिइन्।
बिहीबार भारतका चर्चित डान्स कोरियोग्राफर रमो डिस्युजाले पनि बरिसालाई व्यक्तिगत रुपमा भेट्न चाहेको बताएका छन्। आफ्नो आधिकारिक इन्स्टाग्राममा बरिसाको भिडियोसँगै आफ्नो र श्रीमतीको भिडियो बनाउँदै डिस्युजाले उनलाई व्यक्तिगत रुपमा भेट्ने ईच्छा जाहेर गरेका छन्। बालिका बरिसाले ‘सामी सामी’ गीतमा आफ्नो कम्मर मर्काएको आजभन्दा करिब ४ महिनाअघि हो।
बरिसाको त्यो डान्स अहिले भाइरल बनेको छ। रसल एकेडेमीका प्रिन्सिपल सरोज पौडेलका अनुसार बरिसाको भिडियो शिक्षिका रोसनी कार्कीले खिचेकी थिइन्। शिक्षिकाले हाल एकेडेमी भने छोडिसकेकी छन्। कार्कीले एकेडेमीमा काम गर्दाको सम्झना आएपछि चार दिनअघि मात्रै बरिसाको नृत्यलाई टिकटकमा हालेकी थिइन्। चार दिनमै भिडियो भाइरल भएको हो।

