अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–७, हरैयामा निर्माण भएको थारु सङ्ग्रहालयको शुक्रबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशकी भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले एक कार्यक्रमका बीच सङ्ग्रहालयको उद्घाटन गरेकी हुन् ।
थारु समुदायको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सो ठाउँमा सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले सबै जातजातिको संस्कृति संरक्षण गर्न आवश्यक रहेको बताइन् ।
उनले आफूले सबै जातजातिको संस्कृति जगेर्नाका लागि सहयोग गर्दै आएको उल्लेख गरिन । ‘लोप हुँदै गएको सबै जातजातिको संस्कृति संरक्षण गर्न आवश्यक रहेको छ’, राज्यमन्त्री चौधरीले भनिन्– ‘सबै जातजातिको संस्कृति जगेर्नाका लागि सहयोग गर्दै आएको छु ।’
स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ लागतमा सो संग्रहालय निर्माण भएको हो । समितिका अध्यक्ष भीम चौधरीले संग्रहालय थारु समुदायको मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने बताए । ‘हाम्रो चालचलन, लवाईखवाई भेषभूषा तीव्र रुपमा हराउँदै गइरहेको छ’, उनले भने । ‘सङ्ग्रहालय भएपछि हामी त्यस्ता चिजको संरक्षणको प्रयास गर्नेछौं ।’
हरैयामा थारु सङ्ग्रहालय बनेपछि सो क्षेत्रका थारु समुदायलाई साँस्कृतिक सम्मान मिल्ने बताइएको छ । कार्यक्रमको विशिष्ट अतिथी गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायत रहेकी थिइन् ।
