Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुशासन, समाजवाद र समृद्धि नै मुल लक्ष्य हो : कुन्दन

0 69

कैलाली, २७ कार्तिक ।। कृष्णकुमार चौधरी ‘कुन्दन’ जयनयुद्ध लडेका माओवादी नेता हुन । २०६४ को संविधान सभाको निर्वाचन कैलाली क्षेत्र नम्बर ४ बाट उनले अधिक मतका साथ जितेका थिए । संविधान निर्माण भइसकेपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेका उनी पछि जनता समाज पार्टीमा आवद्ध भएका थिए । अहिले उनी फेरि माओवादीमा फर्किएका छन् । संविधान निर्माणको क्रममा भएको थरुहट÷थारुवान आन्दोलनका एक नेतृत्वकर्तासमेत रहेका उनीे कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लडिरहेका छन् । प्रस्तुत छ, वाम गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनसंग गरिएको कुराकानीको सारसंक्षेप ।

तपाई लामो समय सम्म माओवादीमा रहनुभयो । सशस्त्र द्वन्द्वमा पनि सहभागी हुनुभयो र माओवादीको नेता पनि बन्नु भयो । बिचमा पार्टी पनि बदल्नुभयो । र फेरी पुरानै पार्टीमा फर्कनुभयो र उम्मेदवार बन्नुभयो फर्कदा खेरी चाहिँ कत्तिको स्वागत भयो ?

घरबाट निस्केर यात्रा गर्दै जाँदाखेरि यात्रामा घुम्ती मोडहरू आइरहन्छन् । त्यसो हुँदाखेरि यो घुम्ती मोड पार गर्दै जाँदाखेरि मात्रै लक्ष्यमा पुगिन्छ । पुरानो घरमा स्वागत चाहिँ एकदम हर्टलि स्वागत भएको छ । सबै नेता कार्यकर्ताहरू र तल ग्राउन्डलेवलका कार्यकताहरुले पनि निकै खुसीका साथ हृदयदेखि नै स्वागत गर्नु भएको छ ।

तपाई पहिले संविधान सभाको निर्वाचनमा निर्वाचित हुनुभयो र अहिले प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । त्यो चुनाव र यो चुनावमा कति अन्तर पाउनु भएको छ कस्तो अनुभूति भइरहेको छ र जनताको प्रतिक्रिया कस्तो आइरहेको छ ?

पहिले संविधान सभाको चुनाव लड्दै गर्दा खेरी जनताले त्यतिखेर संविधान कस्तो टाइपको लेख्नुहुन्छ । कस्तो संविधान बनाउनुहुन्छ । भनेर यस्तै किसिमको चासो लिनुहुन्थ्यो तर अहिले जनताका माझ जाँदै गर्दा खेरी अलि बढी विकासको बारेमा र आफ्नो गाउँघरको अवस्थाका बारेमा बढी चाँसो लिएको मैले पाए ।

तपाई जनताका माझ के मुद्दा लगेर जानुभएको छ । तपाईँको उम्मेदवारी खासमा के का लागि ?

यो कुरा गर्दा खेरी तीन चार वटा विषय छ । पैलो कुरा त केपी ओलीले देशमा प्रतिगमन घोषण संविधान नै सिद्धयाउने गरेर देशलाई नै सङ्कटमा पार्नुभएको छ । त्यसको भण्डाफोर गर्दै हामी जनताका माझ आएका छौ पहिलो कुरा यो । दोस्रो कुरा भनेको जसरी अहिले राजनीतिलाई कमाउ धन्दा बनाइएको छ पेसा बनाइएको छ । राजनीति भनेको कमाऊ धन्दा होइन पेसा होइन यो सेवा हो यसलाई सेवाको रूपमा लिनु पर्छ भन्ने कुरा पनि हामीले राखेका छौ । तेस्रो कुरा यहाँ जनताका कृषि सम्बन्धी कुरा छन् मलखादका कुरा छन् । सिँचाइका कुरा छन् यसलाई हामी हल गर्छौ । खास गरी बाटो घाटो भयो, नदी तटबन्धका कुराहरू छन् र सबै भन्दा ठूलो समस्याका रूपमा रहेको यो बाढी पीडितको समस्या हामीले जितेर गयौ भने यस्ता थुप्रै समस्या हामले समाधान गर्ने छौ । र सुशासन, समाजवाद र समृद्धि नै हाम्रो मूल लक्ष्य हो ।

अब यो नेकपा माओवादी केन्द्रको एकल प्रतिबद्धता भएन यो पाँच दलीय गठबन्धन सत्ता साझेदार गठबन्धनको साझा प्रतिबद्धता भयो । त्यो साझा प्रतिबद्धतामा देशको राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाको कुरा त छदै छ । जो तपाई उठाइराख्नु भएको छ । त्यो बाहेक क्षेत्र नम्बर तीनका जनताले तपाईँलाई निर्वाचित गरेपछि के पाउने ?

जनताले मलाई भोट किन दिने भन्दा खेरी पहिलो कुरा त मैले हिजो आफ्नो तीन वर्षे कार्यकाल पुरा गर्दैगर्दाखेरी कुनै किसिमको त्यस्तो कुन्दले भ्रष्टाचार ग¥यो, कुन्दले लुट्यो, ढाँट्यो, जाड रक्सी खाएर थर्कायो भन्ने कुनै रेकर्ड नै छैन । त्यो हिसाबले पनि जनताले मलाई भोट दिन्छन् । अर्को कुरा जति बेला नेपालमा सांसद को सभासद् कोषको अवधारणा आइसकेपछि त्यति बेला मैले सभासद् कोषबाट पैलो पटक नेपालमा एम्बुलेन्स थिएन, कतै अटो रिक्सा थिएन । त्यति बेला मैले एम्बुलेन्स ल्याएर एउटा नमुना काम गरेको थिए । र त्यस कारण यो क्षेत्रका थुप्रै जनता लाभान्वित भएका थिए । त्यसपछि अरू सभासद्हरूले पनि एम्बुलेन्स ल्याए । त्यसै गरी एउटा स्कुलको स्थापना ग¥यौ । जसमा गरिब जनताका थुप्रै छोराछोरी पढ्दै छन् । विद्युतको साह्रै समस्या थियो त्यो समयमा मैले विद्युतको लाइन विस्तार गर्नका लागि जुन पहल गरे त्यसबाट पनि जनता लाभान्वित भए । त्यसै गरी यो सुखडतिर करोडौको लगानीमा खानेपानी योजना मैले नै ल्याएको थिए । त्यस कारण जनताले मलाई कुन्दनले विकास गर्न सक्छ है भन्नको लागि विश्वास गरेका छन् ।

अहिले तपाई माओवादी केन्द्रको उम्मेदवार हुनुभयो । पहिले धेरै अरू आकाङ्क्षीहरू पनि थिए । ती आकाङ्क्षीले टिकट नपाएर तपाईँले पाउनुभयो । तपाई केही समय माओवादी भन्दा बाहिर पनि रहनु भएको थियो । यसले तपाईँको निर्वाचनलाई कति असर गर्छ । तपाइको पार्टी भित्रै पनि यो कारणले अन्तर कलह छ ?

मान्छेको स्वभाव के हो भने आफ्ना सामान्य इच्छा जाहेर हुँदाखेरि र आफ्ना असन्तुष्टिहरू हुने कुरा अलिकति मनमा ठेस लाग्ने कुरा चाहिँ त्यो जायज हो । हिजो टिकटका आकाङ्क्षी मेरा साथीहरू अहिले हर्टली फिल्डमा मेरो साथमा लाग्नुभएको छ । त्यस कारणले हाम्रो सबै साथीहरू टिकट नपाएर फिल्डमा नजाने साथ नदिने त्यस्तो छैन । सबै हर्टली लाग्नुभएको छ ।

माओवादी केन्द्रबाट विस्थापित भएका लखेटिएका थुप्रै काँग्रेसका कार्यकर्ताहरू छन् । ती कार्यकर्ताहरू जो विस्थापित भए ती अहिले त्यै निर्वाचन क्षेत्रका मतदाता छन् तिनले माओवादीहरूलाई भोट हाल्छन् या हाल्दैनन् । हिजोको त्यो आक्रोश यथावत छ या मत्थर भइसक्यो ?

पहिलो कुरा त देश अहिले सङ्कटमा छ । प्रतिगमनको खतरा अझै हटेको छैन । त्यस कारणले हिजो काँग्रेसका साथीले माओवादीबाट दुःख पाए र माओवादीकाले काँग्रेसबाट दुःख पाए । अब कुरा के हो भने अहिले हामी उहाँहरूसँग कुरा राखिरहेका छौ । कन्भेन्स गरिरहेका छौ । हिजो चाहिँ एउटा त्यस्तो परिवेश भो । अहिले हामीले त्यो सबै कुरालाई थाति राखेर यो समय भनेको देश बनाउने समय हो । देशलाई बचाउने बेला हो । देशको स्वाधीनता र संविधान स्थिरता कायम राख्ने बेला हो । त्यस कारण पहिलेका सबै पिडाहरू बिर्सेर देशका लागि एकजुट भएर जानुपर्छ भनेर पीडित भएकाहरू पनि हाम्रै साथमा खुलेर लाग्नु भएको छ । यसले राम्रो सहकार्य भएको । कुनै दुई मत नै छैन ।

अहिले तपाईँहरू काँग्रेस र माओवादीको जुन एकीकरण छ । त्यो दूधमा पानी मिसाएजस्तो छ या मट्टितेलमा पानी मिसाए जस्तो छ ?

एकदम अहिले हाम्रो यो सहकार्य दूधमा चिनी मिसाएजस्तो छ । यसमा कसैको दुई मत नै छैन । अहिले त यो माओवादीको कार्यकर्ता हो यो काँग्रेस का कार्यकर्ता हो भनेर छुट्टयाउनै गाह्रो हुन्छ । सुरुसुरुमा चाहिँ त्यो देखिएको थियो । अब त माओवादीले जय नेपाल र काँग्रेसले लाल सलाम भन्ने दिन आयो । यो देश र कालले माग गरेको कुरा हो । राष्ट्रले माग गरेको कुरा हो । त्यस कारण अहिलेको परिस्थितिलाई हेरेर एकले अर्कोलाई साथ दिनु पर्छ भनेर यो हाम्रो सहकार्य भएको हो । २०६२ सालमा हाम्रा पार्टी एकजुट नभएको सायद त देशमा लोकतन्त्र, गणतन्त्र,सङ्घीयता लगायतका उपलब्धिहरू हासिल गर्न सक्ने थिएनौ । हिजो हाम्रा शीर्ष नेताहरूले गरेको सहकार्यले गर्दा नै देश आज यो स्थानमा पुगेको हो । यो गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, प्रचण्ड जी र बादल जीहरुको योगदानै हो यो सबै ।

तपाइको प्रतिस्पर्धा को सँग हुन्छ ?

म त भन्छु मेरो प्रतिस्पर्धा कोही सँग पनि छैन । अब यहाँ गौरीशङ्कर जी हुनुहुन्छ । अब राप्रपा छ । त्यसपछि नागरिक उन्मुक्ति छ । तर पनि मेरो जितको घोषणा हुन मात्रै बाँकी हो । त्यो शक्तिले पनि भन्छ , त्यो अहिलेको जनभावले पनि भन्छ । २६ वटा वडा छ । २६ मा २० माओवादी, काँग्रेस, समाजवादीले जितेका छन् । बाँकी ६ वडामा मात्रै अरूले जितेका छन् । त्यसो हुँदा खेरी हाम्रो कसैसँग प्रतिस्पर्धा छैन ।

तपाई यस अघि २०६४ मा भारी मतान्तरले विजयी हुनुभएको थियो, यस पटक चाहिँ कतिको अन्तर हुन्छ ?

यो पटक मेरो आङ्कलन त १५ हजार भन्दा माथि नै जान्छ ।

चुनाव जित्ने आधारहरू के के छन् ?

मैले जित्ने आधारहरू थुप्रै छन् । एउटा कुरा क्षेत्र नम्बर ३ मा गठबन्धनको जुन राम्रो साठगाँठ भएको छ । राम्रो एकता भएको छ । त्यो पनि एउटा जित्ने बलियो आधार हो । अब अर्को माओवादी कार्यकर्ताभित्र कुनै पनि असन्तुष्ट छैन । सबै कार्यकर्तामा एकरूपता छ । त्यसै गरी अर्को आधार भनेको हिजो मैले जुन समाजसेवा गर्दै गर्दा खेरी जनतासँग एकदम नजिकको साइनो सम्बन्ध राखेर जनताको सेवा गरेको छु । त्यो सेवाबाट पनि जनताहरू प्रभावित हुनेछन् । मेरो बारेमा कुनै पनि टीकाटिप्पणी गर्ने ठाउँ नभएको हुनाले यो पनि एउटा जित्ने आधार हो । अर्को जित्ने आधार भन्ने हो भने मेरो प्रतिद्वन्द्वी एकदम कमजोर हिजोका दिनहरूमा विभिन्न काण्डहरूमा मुच्छिएका थिए । त्यसो भएका हुँदा पनि मेरो जित्ने आधार यही पनि हो ।

अन्तमा आम मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?

सम्पूर्ण मतदाताहरूलाई म के आग्रह गर्न चाहन्छु भने हिजो पनि तपाईँहरूले २०६४ सालमा अध्याधिक मत दिएर तपाईँहरूले मलाई विजयी गराउनुभयो । र तपाईँको मतलाई सम्मान गर्दै कुनै ठाउँमा मैले ठग्ने, लुट्ने काम गरिन । त्यो हुँदा खेरी भोलिको दिनमा पनि मलाई विजयी गराउनुभयो भने मेले तपाएको मतको अपमान गर्ने किसिमको गतिविधि गर्ने छैन । तपाईँहरूको मतलाई सम्मान गर्ने तरिकाले म तपाईँहरूको सेवामा समर्पित हुनेछु । त्यस कारण आगामी मङ्सिर ४ गते हुने चुनावमा मेरो चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडामा आफ्नो अमूल्य मतदान दिएर मलाई अत्याधिक मतले विजयी गराउनुहुनेछ भन्ने म ढुक्क छु । पश्चिम टुडेबाट ।

School
टिप्पणीहरू
Loading...