धनगढी, २८ चैत ।। खेलकुद क्षेत्रमा बहुप्रतीक्षित सुदूरपश्चिम स्पोर्टस् अवार्ड भोलि (मङ्गलबार) धनगढीमा आयोजना हुने भएको छ । कैलालीस्थित नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने स्पोर्टस् अवार्डको यो तेस्रो संस्करण हो ।
खेलकुदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उच्च योगदान दिएका खेलाडी तथा प्रशिक्षकलाई विभिन्न आठ विधामा पुरस्कृत गरिने स्पोर्टस् अवार्डको तयारी पूरा भएको आयोजक मञ्चले जनाएको छ ।
आयोजक अध्यक्ष सीताराम ओझाका अनुसार अवार्डको तेस्रो संस्करणमा उत्कृष्ट खेलाडी (पुरुष र महिला), उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट तथा सुदूरपश्चिम आइकन (महिला र पुरुष) विधा समावेश गरिएको छ ।
तेस्रो संस्करणमा समावेश गरिएकामध्ये छ विधाका लागि खेलाडी तथा प्रशिक्षकको मनोनयन यसअघि नै सार्वजनिक गरिएको छ । ‘लाइभटाइम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्ड विजेताको घोषणा कार्यक्रमबीच गरिने छ,’ आयोजक संस्थाका अध्यक्ष ओझाले कोसी अनलाइनसँग भने, ‘अरू छ विधाका लागि प्रत्येकमा तीन–तीन जनाको मनोनयन सार्वजनिक भइसकेको छ । अवार्ड छनोट कमिटीले छनोट गरी विजेताको घोषणा गर्ने व्यवस्था मिलाइएको छ ।’
उनका अनुसार कार्यक्रममा विभिन्न विधामा मनोनयनमा परेका प्रत्येक खेलाडी तथा प्रशिक्षकको योगदान र उपलब्धिबारे तयार गरिएको श्रव्य–दृश्य प्रस्तुत गरिने छ ।
स्पोर्टस् अवार्ड आकर्षक बनाउन कार्यक्रमस्थल आकर्षक रूपमा सजाइएको छ । कार्यक्रममा गायक गायक प्रमोद खरेल र हास्य कलाकार राजाराजेन्द्र पोखरेलको प्रस्तुति रहने जनाइएको छ ।
तेस्रो सुदूरपश्चिम स्पोर्टस् अवार्डको मुख्य प्रायोजक धनगढीस्थित सुदूरपश्चिम एकेडेमी (एसपिए) छ । अवार्डको मुख्य प्रवर्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ भने धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् प्रवर्धक छन् ।
विभिन्न विधामा काठमाडौँको मास ह्युमन रिसोर्स, कैलालीको वनदेवी युवा क्लव, धनगढीको निसर्ग अस्पताल, सारथी अस्पताल, माया मेट्रो हस्पिटल तथा मेरो रेडिमेड उद्योग, धनगढीकै गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम र न्यु सिटी पोलिक्लिनिकले प्रायोजन गरेका छन् ।
अवार्डको सहप्रायोजकमा ठाकुर एग्रो, केल्मी र नवजीवन कोअपरेटिभ्स रहेका छन् । आयोजकका अनुसार तेस्रो संकरणमा उत्कृष्ट खेलाडी (पुरुष र महिला) विधाका विजेताले जनही ३५ हजार रुपैयाँ नगद पाउने छन् ।
त्यस्तै, उत्कृष्ट प्रशिक्षकले ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सुदूरपश्चिम आइकन (महिला र पुरुष) विधाका विजेतालाई २० हजार रुपैयाँ नगद प्रदान गरिने छ ।
