Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिम प्रदेश संयोजक पदलाई लिएर रावल र भट्टबीच टकराव

0 82

भाद्र २६, काठमाण्डौं ।। सुदूरपश्चिम प्रदेश पार्टी संयोजक कसलाई बनाउने भन्नेमा विवाद उत्पन्न भएपछि नेकपा एमालेमा एकताबद्ध बनाउन गरिएको १० बुँदे सहमति कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ । खासगरी पार्टी स्थायी कमिटी सदस्य डा. भीम रावल र लेखराज भट्ट दुबैले सुदूरपश्चिम प्रदेशको संयोजक बन्ने अडान लिएपछि सहमति कार्यान्वयनमा असहजता उत्पन्न भएको हो ।

विवाद समाधानका लागि रावल, भट्ट र अर्का नेता कर्ण थापा छुट्टै आन्तरिक छलफलमा बसे पनि साम्य हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै उनीहरू बस्नुपर्ने स्थिति उत्पन्न भएको छ । ओलीसँग उनीहरू सकेसम्म शनिबार स्थायी कमिटी बैठकपछि या आइतबार बिहान यसबारे टुंगो लगाउनेगरी बस्ने तयारी छ । रावल यसबारे बैठक बसेपछि मात्रै बोल्ने भनेर पन्छिए । उनले भने, ‘बैठक हुँदै छ । बैठकपछि मात्रै बोल्छु ।’ तर भट्टले भने संयोजकलाई लिएर रावल र आफूबीच विवाद भएको स्पष्ट संकेत गरे ।

‘रावलजीको २ जेठ २०७५ मा जानुपर्छ भन्ने अडान छ । मैले पार्टीले जे निर्णय गरेको छ त्यसमै जाऔँ भनेको छु । अब निर्णय परिवर्तन गर्ने हो भने पार्टीले नै गर्नुपर्ने भन्ने मेरो अडान हो ।अध्यक्षले पनि हुबहु २ जेठमा जान सकिन्न भन्नुभएको छ । उहाँले एकीकरणको भावनालाई पनि समेट्नुपर्ने भन्नुभएको छ । मुल नेतृत्वको विचार वरिपरि भइएको छ । त्यसको मनोवैज्ञानिक भावना समेट्नुपर्छ भनेको छु मैले । त्यसो भए मूल नेतृृत्वसँग बसौँ भन्नेमा हामी पुगेका छौँ ।’ साथै, उनले प्रदेश संयोजक नपाए त्यसको प्रतिवाद गर्ने संकेत पनि गरे । ‘आफूमाथि अन्याय भए अन्यायविरुद्ध लड्ने मान्छे हो । प्रचण्डसँग लडे, यहाँ पनि लडौँला नि के भयो र ?’, उनले भने ।

सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयनको जिम्मेवारीमा नेता रावल र भट्ट दुवै छन् । १०बुँदे सहमतिका आधारमा भट्टले आफू इन्चार्ज हुनुपर्ने अडान लिएका छन । तर, रावलले भने पार्टीलाई २ जेठमै फर्काउनुपर्छ भन्ने अडान लिएका छन् । नेकपा माओवादी केन्द्रसँग एकता हुनुपूर्व रावल एमालेका तर्फबाट सुदूरपश्चिम संयोजक थिए ।

रावल र भट्ट दुवैले सुदूरपश्चिम प्रदेश संयोजक हुनुपर्ने अडान नत्यागेपछि त्यसलाई सल्टाउने जिम्मेवारी अध्यक्ष ओलीको एकल काँधमा परेको हो । यस्तो अवस्थामा ओलीले प्रदेश संयोजकमा रावल या भट्ट कसलाई रोज्लान ? तीव्र अड्कलबाजीको विषय बनेको छ । ओली सरकारमा भट्ट नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका थिए । नेकपामा विवाद चुलिएका बेला भट्ट आफ्नो पूर्वपार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूह त्यागी ओलीकै पक्षमा उभिएका थिए ।

नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई सुदूरपश्चिमसँगै प्रदेश २ र १ का केही जिल्लामा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताए । ‘मुलुकका अधिकांश जिल्लामा यो कार्यान्वयनमा आइसकेको छ। १, २ का केही जिल्ला र सुदूरप्रदेशमा केही समस्या आएको छ। तर, यो समस्या चाँडै अन्त्य हुनेमा विश्वास छ’ उनले भने ।

टिप्पणीहरू
Loading...