सिमरीमा दिपावलीको अवसरमा साँस्कृतिक कार्यक्रम हुने
पहलमानपुर, १५ असोज ।। कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ सिमरीमा नेपालीहरुको महान पर्व शुभदिपावलीको अवसरमा संस्कृति सम्वर्द्धन कार्यक्रम हुने भएको छ । ‘अपन कला, संस्कृति, भेषभुषा अपन पहिचान, सक्कुजना मिलके सम्वर्दन कर्ना हम्मर अभियान’ भन्ने मुलनाराका साथ यहि कार्तिक १७ गते कार्यक्रम हुन लागेको हो ।
जोशीपुर गाउँपालिका ६ नं. वडा कार्यालयको आर्थिक सहयोग तथा दियादिवारी संस्कृति सम्वर्द्धन कार्यक्रम आयोजक समिती सिमरीको आयोजनामा हुन लागेको कार्यक्रममा वडामा रहेका विभिन्न टोलका स्थानियहरुको साँस्कृतिक झाँकी सहित स्थानिय कलाकारहरुको प्रस्तुती रह्ने कार्यक्रम संयोजक प्रशान्त कठरियाले बताए । उनले कार्यक्रममा थारु गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका स्थानिय कलाकारहरुलाई सम्मान समेत गरिने बताए ।
राष्ट्रिय आधारभुत बिद्यालयको प्राङ्गणमा आयोजना हुने उक्त कार्यक्रममा थारु समुदायको चर्चित झुम्रा, हुर्डुङ्गवा, होरी नाच प्रस्तुत गरिनुका साथै थारु गायकहरु रामकुमार कठरिया र सोनु कुश्मीको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । सिमरीमा लामो समय देखि बर्सेनी युवाहरुको सक्रियतामा साँस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ ।