सशस्त्र प्रहरीमा भर्ना हुन आवेदन दिनेकाे भिड
२३ भाद्र, अत्तरिया ।। सशस्त्र प्रहरी बलमा जागिर खान युवाहरू उत्साहित देखिएका छन्। शसस्त्र प्रहरी जवानदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) पदका भर्ना खोलिएको छ। ती पदमा भर्ना हुन कैलालीकाे अत्तरियास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयमा दैनिक एक सयभन्दा बढीले आवेदन दिने गरेका छन्।
भदौ ११ गतेदेखि हालसम्म एकहजार ३३३ जनाले भर्नाको लागि आवेदन दिएका छन्। भर्ना खोलिएको १२ दिनभित्र उक्त संख्याले आवेदन दिएको बाहिनीले जनाएको छ। बाहिनीका अनुसार १२ दिनको अवधिमा सशस्त्र प्रहरी निरीक्षकमा तीन जना, प्रहरी सहायक निरीक्षक (असई) मा एकसय ८० जना र जवानमा एकहजार एक सय ५० जनाले आवेदन दिएका छन्।
सुदूर पश्चिमको कैलाली बाहेक अन्य जिल्लामा सशस्त्र प्रहरीको जनशक्ति कम भएकाले अत्तरिया स्थित बाहिनीमा मात्रै भर्नाका लागि आवेदन दिने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ। जिल्ला–जिल्लाबाट भर्ना आवेदन दिने व्यवस्था नहुँदा अत्तरियामा फाराम भर्नेको लामो लाइन लाग्ने गरेको छ।
सशस्त्र प्रहरीले एक हजार ९५ जना सशस्त्र प्रहरी निरीक्षकदेखि जवानका लागि भर्ना खुलाएको छ। असोज १० गतेसम्म आवेदन दिने समय तोकिएको छ।