कैलाली, २६ भदाैं ।। सुदूरपश्चिम प्रदेशमा आज हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि आजको कार्यक्रम स्थगित गरिएको हो ।
आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ आउने कार्यक्रम तय भएको थियो । श्रेष्ठ हिजै धनगढी पुगिसकेका थिए भने अन्य नेताहरू आज आउन लागेका थिए ।
नेम्वाङको हृदयाघातबाट निधन भएका कारण आजको कार्यक्रम स्थगित गरिएको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शालले जानकारी दिइन् । यस अघि पनि १३ गते हुने कार्यक्रम पनि विप्लव नआउने भए पनि स्थगित गरेर आजको लागि निर्धारण गरिएको थियो ।
