भजनी, २९ चैत ।। कैलालीको भजनीमा एकीकृत पाठ्यक्रम सम्बन्धि आधारभुत तह (१-३) का शिक्षक शिक्षिकाहरुको क्षमता विकास सम्बन्धी ५ दिने कार्यक्रम सम्पन्न भएको छ । विकासका लागि युवा एक्यवद्धता (याड) धनगढी र वल्डभिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गतको कार्यक्रम सम्पन्न भएकाे हाे ।
बालविद्या मन्दिरकी शिक्षिका दया चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगर उपप्रमुख राजु तिरुवा रहेकी थिइन् । उक्त कार्यक्रममा भजनी नगरपालिकाका आठ वटा विद्यालयका शिक्षक शिक्षिकाहरुकाे सहभागिता रहेको थियो ।
शिक्षक शिक्षिकाहरुको पठ्यक्रम प्राविधिक ज्ञान , सीप र धारणा विकास गरि बालबालिकाहरुमा समावेशी तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको संस्थाका फिल्ड अफिसर पिताम्बर पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै सहभागी सीता आचार्यले हामीहरुले बर्षौ देखि पढाउदै आएका थियौ तर हामीहरुलाई प्राविधिक ज्ञान थिएन् यस तालिमले हाम्रो पढाउने शैलीलाई रुपान्तरण गरेको छ। तालिमबाट सिकेको सीप ब्यवहारमा लागू गर्छौ र निरन्तर मुल्यांकन गर्न समेत सजिलो भएको छ।
यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख तिरुवाले अबको बजेटमा शिक्षा र बालबालिलाई नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताईन् । प्रशिक्षक मनोज सिंह भण्डारी र राम चन्द्र जोशीले प्रशिक्षण गरेकाे कार्यक्रमकाे सञ्चालक फिल्ड अफिसर पिताम्बर पौडेलले गरेका थिए ।
