पहलमानपुर, १० चैत ।। पृथ्वीपुर गाउँमा रहेको लक्ष्मी माध्यमिक विद्यालय परिसरमा हरेक महिनाको पहिलो र अन्तिम शनिवार वालवालिकाहरुको भेला हुन्छ । सो भेलामा वडाका ८ वटै टोलका १३ देखि १८ बर्ष उमेरका ३७ भन्दा बढि वालवालिकाहरु महिनाको दुई दिन त्यहिं भेटिन्छन् । सो दिन उनिहरु आफुले जाने, बुझे र सिकेका कुरा एक आपसमा आदान प्रदान गर्छन् । कोहि वालवालिकाहरु कुनै किसिमको समस्यामा परेको भए साथीहरु सँग समाधानका लागि सहकार्य गर्छन् । त्यति मात्रै नभएर उनिहरु सो बैठकमा आफु सँग भएको पैसा थोरै भएपनि समुहमा राख्छन् र भैपरि आएको साथीहरुलाई आवश्यक सहयोग गर्छन् । यसका साथै बैठकमा समाजमा आफुहरुले गर्न सक्ने सामाजिक कृयाकलापहरुको बारेमा समेत उनिहरु खुलेर छलफल गर्छन् र योजना बनाउँछन् ।

यो प्रसङ्ग हो, कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ मा गठन गरिएको रुपान्तरण वाल क्लवको । वडामा रहेका आठ ओटै टोलका वालवालिका आवद्ध भएको यस क्लवका वालवालिकाहरुको फुर्सदका दिनहरु यसरी सामाजिक कार्यमा तित्दै गएको छ । क्लव गठनको केहि महिनामै एकजुट भई वालवालिकाहरु थुप्रै सामाजिक कार्यमा संलग्न भईसकेका छन् । ‘हामीले समय समयमा गाउँको बाटोघाटो, बजार, विद्यालय परिसर सरसफाई गर्दै आएका छौं रुपान्तर वाल क्लवका अध्यक्ष अनुराग चौधरीले बताए । अचेल वालवालिकाहरु लागुपदार्थ दुर्व्यसनि, वालविवाह, विद्युतिय उपकरणको अत्याधिक प्रयोग लगायतको प्रमुख समस्या सँग जुधिरहेकाले सोको न्युनिकरणका लागि समेत आफुहरु निरन्तर आफ्नै लगानीमा जनचेतनामुलक कार्यक्रम गरिरहेको उनले बताए ।’
सो क्लव मार्फत वालवालिकाहरुले हाल सम्म सरसफाई कार्यक्रम, गरिव, असाह्य तथा जेहेन्दार वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण, गाउँ गाउँ वालवालिकका तथा उनिहरुका परिवारलाई घरेलु सेनेटरी प्याड बनाउने तालिम, विभिन्न प्रतियोगितात्मक कार्यक्रम, स्थानिय सरकार सँग वाल अधिकारका विषयमा सहकार्य, छलफल र विकासका कृयाकलापमा प्रत्यक्ष सहभागि लगायतको कार्य गरिसकेका छन् । वालवालिकाहरुले आगामी दिनमा क्लबलाई वडा स्तरिय वाल क्लव संजाल बनाउने लक्ष्य रहेको बताउँछन् । उनिहरुले समग्र वालवालिकाहरुको हक, अधिकारको बिषयमा एकता भई आवाज बुलन्द गराउन प्रयासरत रहेको बताउँछन् ।

कैलारी गाउँपालिका वडा नं. ८ का वालवालिकाहरुमा यस्तो परिवर्तन वर्ल्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण संघ टिकापुरको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजना अन्तरगतको रुपान्तरण कक्षाले गरेको हो । रूपान्तरण कक्षा बाट आत्म जागरण, लैङ्गिकता, घरेलु हिंसा, बालविवाह जस्ता व्यवहारिक कुराहरू बालबालिकाहरूले सिकेका छन् ।
रूपान्तरण कक्षामा बाल अधिकार, बाल विवाह, बालश्रम, यौन हिंसा, घरेलु हिंसा, व्यावसायिक तालिम, यौन तथा प्रजनन स्वास्थ्य र नागरिक सहभागिता जस्ता व्यवहारिक कुराहरू सिकेको बालबालिकाहरूले बताएका छन् । बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाले सो वडामा ३० हप्ता सम्म रूपान्तरण कक्षा संचालन गरेको थियो । जसको फलस्वरुप वालवालिकाहरुमा चेतनाको स्तर बृद्धि भई उनिहरु आफै जागरुक भएको साथी शिक्षक निर्प बहादुर चौधरीले सुनाए । जीवन उपयोगी रूपान्तरण कक्षाको सिकाइले बालबालिकाहरूमा सामाजिक रुढीवादी परम्परा, बालविवाह, कुसंस्कार र सामाजिक चिन्तन लगायतको व्यवहारमा परिवर्तन आएको उनले बताए ।
यस्तै रुपान्तरण कक्षाको शिकाई पश्चात वालवालिकाहरुमा आएको परिवर्तनको कैलारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तारामल कठरियाले खुलेर प्रशंसा गरेका छन् । वालवालिकाहरुले स्थानिय सरकारले गर्नुपर्ने काममा हात बटाएको उनको भनाई छ । ‘वाल क्लवका भाईबहिनीको कामको सम्मान गर्दै हामीले थोरै भएपनि वडा सरकारवाट सहयोग गर्ने प्रयास गरेका छौं । आगामी दिनमा थप सहयोग र सहकार्य गर्ने छौं’ उनले भने ।
रुपान्तरण क्लवका वालवालिकाहरुले स्थानिय सरकारको आर्थिक सहयोगमा वालदिवशको अवसरमा विविध कार्यक्रम समेत आयोजना गरेका थिए । हाल सो वडामा दोस्रो चरणको रुपान्तरण कक्षा संचालन भईरहेको छ । कक्षामा विभिन्न टोलका १३ देखि १८ बर्ष उमेर समुहका २५ जना वालवालिकाहरुको सहभागिता रहेको छ ।

