काठमाडौं, ४ चैत्र ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले ‘तीर’ चिह्नमा स्थानीय चुनाव लड्ने भएको छ।
आगामी ३० वैशाखमा हुने स्थानीय चुनावका लागि राप्रपा नेपालले ‘गाई’ चिह्न माग गरेको थियो। गाई चुनाव चिह्न नपाए स्थानीय निर्वाचन बहिष्कार गर्ने जनाएको छ।
आयोगले राप्रपा नेपाललाई ‘तीर’ चुनाव चिह्न प्रदान गरेको छ। अब भने ‘तीर’ चिह्नमै स्थानीय चुनावमा भाग लिने तय भएको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए।
‘राप्रपा नेपाललाई निर्वाचन आयोगले ‘तीर’ चिह्न प्रदान गरेको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको पुरानै निर्वाचन चिह्न ‘गाई’ प्राप्त गर्नका लागि निर्वाचन आयोगको निर्णय विरुद्ध कानूनी प्रक्रियामा जाने विकल्पलाई खुला राख्दै पार्टीले स्थानीय तहको निर्वाचन नजिकिएको बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर हाललाई ‘तीर’ निर्वाचन चिह्नलाई स्वीकारेको छ।’
साना दलले आफ्नै चिह्नमा चुनाव लड्न पाउने माग गर्दै आएका थिए। आयोगले त्यसका लागि सबै दलसँग विवरण माग गरेको छ।
