Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

राना थारु गाउँमा साउनको डोलाको रौनक

0 73

कञ्चनपुर, २ साउन ।। कञ्चनपुरका राना थारु गाउँमा सावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । पिङ भने महिलाले राख्दैनन् ।

सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजु भाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन पुरानै रहेको छ । ‘यो चलन परम्परागत रुपमा चल्दै आएको छ’, धनबहादुर रानाले भने, ‘दिदीबहिनीले पिङमा मच्चिदै रमाइलो गर्दै माङ्गलिक गीत गाउने गर्दछन् । पिङलाई रानाथारु भाषमा डोला भन्ने गरिन्छ । चारवटा काठको खावाँमा डोरीमा काठको फल्याक बाधेर पिङका रुपमा प्रयोग गरिन्छ ।’

पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको राना थारु अगुवा नवलसिंह रानाले बताए । दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामना गरी यस अवसरमा तिज मनाउने गर्दछन् । निरहार बसेका दिदीबहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविविहीतले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तीसँगै विर्सजन गर्ने चलन रहेको छ । विर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी बरदान माग्ने गर्दछन् । जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस सामुदायमा रहेको छ ।

‘विर्सजन गर्न जाने बेला गाँउका युवाले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन’, नवल सिंहले भने, ‘जसलाई राना थारु भाषामा झुडकी छिराउने भन्ने गरिन्छ ।’

माइतीलाई भेटन नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन् । यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ ।

तीजका अवसरमा महिलाले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोवास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँदा छन् । साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रुपमा समापन गर्ने गरिन्छ ।

दाजुभाइले तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ। परम्परागत राना थारु समुदायका महिलाले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ । संस्कृति बचाउनुपर्छ भन्ने भावना हाल राना थारु समुदायका युवा पिँढीमा रहेकाले यस पर्वलाई जीवित राख्नका लागि प्रत्येक वर्ष गाउँमा सावनको डोला राख्ने कार्य गर्दै आएका छन् । गाउँका दिदीबहिनीले समेत यस कार्यमा साथ दिँदै आएका छन् । रासस

टिप्पणीहरू
Loading...