राईस मिल संचालक कठरिया युवाले बेसहारालाई निशुल्क सेवा दिंदै
टिआर कठरिया, पहलमानपुर, १७ पौष ।। धान, गहुँ, कुटानी, पिसानी तथा तेल पेलानी लगायतको सुविधा भएको राईस मिल अधिकांश ग्रामिणभेगमा प्रशस्त रुपमा भेटिन्छन् । गाउँ पिच्छे सर्बसाधारणहरुलाई सशुल्क सेवा प्रदान गर्नका निम्ति संचालित ती मिलहरु कुनै ब्यक्ति विशेषले आफ्नो आयस्तरमा बृद्धि गराउने हेतुले संचालन गरेको हुन्छ । ब्यवसायिक हितका लागि संचालित उद्योगमा कुनै ब्यक्ति पैसा नतिरी सेवा पाउने कुरै झएन् । चाहे त्यो ब्यक्ति गरिव होस्, अशत्त होस्, या एकल होस् त्यसले कुनै फरक पर्दैन्, पैसा तिर्छ र सेवा लिन्छ ।
तर यहाँ एउटा अरु भन्दा पृथक राईस मिल छ, जहाँ पैसा नभएपनि सेवा लिन पाईन्छ । त्यसको मतलब सबैलाई निशुल्क सेवा प्रदान गरिन्छ भन्ने चाहिं हैन् । तपाईंले उक्त मिलमा निशुल्क सेवा लिन मिल संचालकले तोकेको मापदण्ड पुरा गरि रातो कार्ड प्राप्त गर्नुपर्ने हुन्छ, त्यसपछि तपाईंले पाउनु हुनेछ निशुल्क सेवा ।
यहाँनिर चर्चा गर्न खोजिएको मिल हो, घोडाघोडी नगरपालिका वडा नं. १२ कोंटा गाउँका ३८ बर्षिय युवा शिवकुमार कठरियाले संचालन गरेको ‘कठरिया ब्रदर्श मल्टी सर्भिस राईस मिल’ । सो राईस मिलमा एकल महिला, छोराछोरीको स्याहार सुसारबाट बञ्चित जेष्ठ नागरिक, विभिन्न दुर्घट्ना, दैविप्रकोपबाट घरमुलि गुमाएका १२ जनाको परिवारलाई रातो कार्ड प्रदान गरिएको छ ।
सोहि अनुसार सो मिलबाट प्रदान गरिने सम्पुर्ण सेवा सुविधाहरु निशुल्क रुपमा उपलब्ध गराई रहेको कठरिया ब्रदर्श मल्टी सर्भिस राईस मिलका संचालक शिवकुमार कठरियाले बताए । १ जना सेवाग्राही जेष्ठ नागरिकको मृत्युभएपश्चात र १ जना बसाईंसराई गरेर गएकाले हाल १० जनालाई सेवा प्रदान गरिएको कठरियाले भने ‘अझैपनि मैले तोकेको मापडण्ड पुरा गरेकाहरुलाई सेवादिन तयार छु ।’
घोडाघोडी नगरपालिका वडा नं. १२ र ११ का सेवाग्राहीहरुको रातोकार्ड हरेक बर्ष माघ महिनामा नविकरण गर्ने गरिएको छ । मान्छेलाई धन जति कमाएपनि नपुग्ने भएकाले थोरै भएपनि आफन्तहरुको सहयोगबाट बञ्चितहरुलाई सहयोग गरिरहेको कठरिया बताउँछन् । उनी भन्छन् ‘मैले जे सक्छु त्यहि सहयोग गरिरहेको छु, सबैथोक पैसा हैन् केहि कुरा कसैलाई सहयोग गरेर प्राप्त हुन्छ, त्यो पैसाले खरिद गर्न सकिन्न ।’
सो राईस मिलबाट सेवा लिईरहेकाहरु एगदमै हर्षित देखिन्छन् । उमेरले ७० कटेकी एकल महिला चिम्टीदेवि ढोलीले आफुलाई कसैले पनि यस्तो सहयोग नगरेको बताईन् । हामी सँग कुरा गर्दै हातै जोडेर सहयोगीलाई आभार ब्यक्त गर्न पुगेकी उनि भन्छिन् ‘हामीले बर्षौ देखि सेवा लिईरहेका छौं, बाबुले कहिल्यै पनि हाम्रो कुटानी, पिसानीको पैसा लिएनन् । हामी धेरै खुशि छौं ।’