कैलाली, ६ माघ ।। कैलालीमा स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) जागिरबाट बर्खास्तीमा परेका छन्। रक्सी खाएर हतियार सहित ब्यारेकबाट निस्किएका मेजर अशोक शाहीलाई सैनिक अदालतले बर्खास्त गर्ने फैसला गरेको हो। कात्तिक २१ गते चिसापानीको होटल संगममा शाही र होटलसञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो।
सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेनाको कोर्ट मार्सलले उनलाई बर्खास्त गर्दै एक महिना कैद सजाय हुने फैसला गरेको हो। मेजर शाही गत पुस २८ गते कैद भुक्तान गरेर रिहासमेत भइसकेका छन् तर नेपाली सेनाले अहिलेसम्म पनि यो फैसला गुपचुपु राखेको छ।
सैनिक उच्च स्रोतका सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले गत पुस ३ गते मेजर शाहीलाई दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको थियो।
सुरुमा ग्राहकसँग झगडा गरेका शाही पछि ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न पुगेका थिए। शाही सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत थिए। उनलाई सैनिक आचरण विपरित काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।