काठमाडौं, ७ चैत्र ।। नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने छन । म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि भिड लागेको छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट ९ हजार ९ सय ३७ जना भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जसमा कैलालीबाट २ हजार ४ सय ५७, कञ्चनपुरबाट १ हजार ४ सय ६९, बैतडीबाट ८ सय १५, दार्चुलाबाट ७ सय ४२, डोटीबाट ८ सय १०, डडेल्धुराबाट ६ सय ५२, बझाँङबाट १ हजार ९३, अछामबाट १ हजार २ सय ३१ र बाजुराबाट ६ सय ६२ म्यादी प्रहरी भर्ना गरिने जनाइएको छ ।

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने छ ।
११ चैतसम्म आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नु पर्ने छ । १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन् । उनीहरुको बीमा लगायतका अन्य सुविधा पनि हुने छ ।
