Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माघी गाउँमा लाटोकोसेरो उत्सव हुने

0 59

कैलाली, १५ माघ ।। लाटोकोसेरो तथा हुचील संरक्षणका लागि माघको २० र २१ गते घोडाघोडी ताल नजिकैको माघी गाउँमा लाटोकोसेरो उत्सव हुने भएको छ । कैलालीको घोडाघोडी नगरपालिका-४ को घोडाघोडी बर्ड सेन्चुरी नजिककै माघी होमस्टेमा ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’को दशौं सस्कंरण आयोजना गर्न लागिएको हो ।

यसअघि यस्तो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जमा सम्पन्न भइसकेको छ । चरा संरक्षण नेटवर्क, कैलाली र प्रकृतिका साथीहरू संस्थाको आयोजनामा हुने उत्सवमा डिभिजन वन कार्यालय, पहलमानपुर; घोडाघोडी नगरपालिका; सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश पर्यटन विकास कार्यक्रमको सहभागिता रहेनेछ।

उत्सवमा वर्नथिस फाउन्डेशन, अन्तर्राष्ट्रिय लाटोकोसेरो केन्द्र, जेडएसएल नेपाल, विश्व वन्यजन्तु कोष नेपाल, नेपाल पन्छी संरक्षण संघ, पोखरा पन्छी समाजको आर्थिक तथा प्रावधिक सहयोग रहेको छ । पर्यावरणलाई सन्तुिलत राख्ने भूमिका निर्वाह गर्ने लाटोकोसेरोको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्छ। तर, पछिल्लो समय लाटोकोसेरोको भारत, चीन लगायत विभिन्न खाडी मुलुकमा अवैध कारोबार हुने गरेको छ। प्रकृतिका साथीहरू संस्थाले  ४६ जिल्लामा गरेको अध्ययनमा नेपालबाट वार्षिक दुई हजार वटासम्म लाटोकोसेरो तथा हुचील मारिने गरेको र त्यसरी मारिएका पन्छी विभिन्न मुलुकमा अवैध रूपमा पठाइने गरेको पाइएको छ।

राति तथा बिहान सक्रिय हुने शिकारी चरा लाटोकोसेरोले मुसाको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्छ। यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । लाटोकोेसेरोको भाले, पोथी र बच्चाले एक सिजनमा तीन हजार वटासम्म मुसा खाने अनुमान छ। लाटोकोेसेरोले मुसाबाहेक किरा फट्याङग्रा, सर्प, भ्यागुता पनि खाने गर्छ । विश्वमा करिब २२५ प्रजातिका लाटोकोेसेरो अभिलेख भएका छन्। नेपालमा २३ प्रकारका लाटोकोसेरोका प्रजाति अभिलेख भएका छन्, जसमा नौ प्रजाति दुर्लभ मानिन्छन्।

School
टिप्पणीहरू
Loading...