कैलाली, २४ साउन । छिमेकी राष्ट्र भारतका थारुहरुले धुमधामसंग आज विश्व आदिवासी दिवस मनाएका छन् ।
जनपद् लखिमपुर खिरी, बेलापरसुआ, बहराईच, श्रावस्ती, महराजगंजमा थारुहरुले विश्व आदिवासी दिवस मनाएको बेलापरसुवाका लल्लन कठरियाले जानकारी दिए ।
दिवसको अवसरमा आयोजित समारोहहरुमा होली, सखिया, झुमरा लगायत विभिन्न किसिमको परम्परागत नृत्य पनि प्रदर्शन गरिएको थियो । नेपालसंग सीमा जोडिएको क्षेत्रहरुमा भारतमा कठरिया, चौधरी र राना थारु जातिको बसोबास रहेको छ । नेपालका आदिवासी जनजाति जस्तै उनीहरु पनि आफ्नो देशमा अधिकारको लडाइ लड्दै आएका छन् ।





