धनगढी, २८ फागुन । कैलालीको धनगढीमा कार्यरत पत्रकार शेरबहादुर ऐरमाथि भएको घटनाको प्रहरीले छानविन गरिरहेको छ । घटनाको बारेमा बुझ्ने, होटलको सीसी टिभी फुटेज जाँचबुझ गर्ने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
‘वास्तविक के भएको हो, त्यो बुझिरहेका छौं’, उनले भने, ‘सबैकुरा एकमुष्ट रुपमा पछि बाहिर ल्याउँछौं ।’ गएराति ९ बजेतिर धनगढीको रुबस होटलको प्रवेशद्वारमा अचेत अवस्थामा भेटिएका ऐरको टाउकोमा गम्भीर चोट छ ।
पत्रकार ऐर हिजो धनगढीको रुबस होटलमै भएको चिकित्सकहरुको क्षेत्रीय भेलामा सहभागी थिए । साँझ चिकित्सक र मेडिकल सञ्चालकहरुको रुबस होटलमा जमघट भएका बेला सोही होटलको प्रवेशद्वारमा पत्रकारमाथि नियोजित तरिकाले आक्रमण गरिएको पत्रकारहरुको जिकिर छ ।
घाइते पत्रकार ऐरलाई उपचारका लागि राति नै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको टाउकोमा पाँच वटा टाँका लागेको छ ।

