कैलाली, २४ माघ ।। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई कार्यगत एकता अथवा पार्टी एकीकरणको प्रस्ताव राख्दै औपचारिक पत्र पठाएकी छिन्। कार्यगत एकता वा पार्टी एकीकरण गर्न इच्छा वा अवधारणा भए यथाशीघ्र वार्ता गर्न अनुरोध गर्दै श्रेष्ठले पत्र पठाएकी छिन्।
यसैगरी जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पनि मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ। यसअघि पनि संलोरामलाई राष्ट्रिय जनमुक्ति पार्टीले एकताको निम्ति औपचारिक पत्राचार गरेको थियो।
जसपा र उन्मुक्तिको प्रस्ताव बारे प्रतिक्रिया दिँदै संलोरामका महासचिव अशोक चेम्जोङ्ले पहिचान पक्षधर शक्तिहरुबीच ध्रुवीकरण र एकता आवश्यक रहेको बताएका छन्। उनले पार्टीभित्र विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरुबीच वृहत् एकता गर्नुपर्ने मत बढेर गएको जिकिर गरेका छन्।
