देशव्यापी बनाइँदै विद्युतीय राहदानी
काठमाडौँ, ४ पुस । सरकारले मङ्सिर १ गतेदेखि नेपाल भिञ्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो ।विभागका महानिर्देशक डोरनाथ अर्यालले राहदानी विभागको चारवटा छुट्टाछुट्टै टोली देशका विभिन्न जिल्लामा पुगेर विद्युतीय राहदानी वितरणको अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।
सुरुमा विभागबाट मात्र वितरण गरिएको विद्युतीय राहदानी सर्वसुलभ बनाउन देशव्यापी अभियानमार्फत वितरण टोली खटिएको हो । टोलीले हरेक जिल्ला पुगेर त्यहाँस्थित जिल्ला प्रशासन कार्यालयको टोलीलाई प्रशिक्षित गर्दै विद्युतीय राहदानी वितरणको प्रक्रिया सिकाइरहेको छ ।
शुक्रबार महानिर्देशक अर्यालसहितको टोली रुपन्देही पुगेर विद्युतीय राहदानी वितरण जिल्लाबाट थालेको छ । बुटवलबाट पनि शुक्रबारै विद्युतीय राहदानी वितरण थालिएको छ । अन्य टोली पूर्वी नेपालको विराटनगर, हेटौँडा र चितवनलगायतका जिल्ला पुगेर विद्युतीय राहदानी वितरणको प्रक्रियामा सहजीकरण गरिरहेको अर्यालले बताए ।
विद्युतीय राहदानी वितरणमा प्राविधिक तथा कार्यगत कुनै पनि खालको चुनौती नदेखिएपछि विभागका कर्मचारीमा थप उत्साह छाएको छ । मङ्सिर १ गते पहिलो दिन विभागबाट २० वटा मात्र विद्युतीय राहदानी वितरण भएको थियो ।
त्यसपछि बिस्तारै २०, ४०, ६० र सयबाट सङ्ख्या बढोत्तरी गर्दै अहिले दैनिक पाँच सय जनालाई विद्युतीय राहदानी वितरण गर्न थालिएको छ । हालसम्म विभागले अन्दाजी चार हजार विद्युतीय राहदानी वितरण गरेको छ ।
विभागबाट हरेक दिन एक हजारवटा विद्युतीय राहदानी वितरण गर्ने क्षमता वृद्धि गर्न आवश्यक तयारी भइरहेको विभागले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत पनि विद्युतीय राहदानी वितरणको तयारी भइरहेको छ ।
