Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

थारु समुदायको डसिया (दशैं)

0 74

उन्नती चौधरी ।। थारु समुदायमा डसिया (दशैं) को आफ्नै मौलिकपन छ । समान्यतया डसिया र दशैं एउटै पर्वकोरुपमा लिने गरिन्छ तर हाम्रा अग्रज लेखकहरुले भने डसिया र दशैं एउटै नभएको बताउँछन् । दशैं पर्वको लागि क्यालेन्डरमा तीथि मिति जुडाइएको हुन्छ तर डसिया पर्व प्रकृतीको हिसावले तीथि मिलाएर मनाउने गर्दछन् । डसियाको आफ्नै रीतिथीति छ । पहिला पहिला थारु समुदायमा डसियाको चहलपल असोजको पहिलो ओजरियाको देस्रो दिनदेखि शुरु हुन्थ्यो । त्यो चलन हाल सम्म पनि कायमै छ । क्यालेन्डरको तीथि अनुसार पहिलो ओजरियामा (जुन देखिएको) घटस्थापना पर्छ । जुन दिन गैर थारु समुदायले जमरा राख्ने गर्दछन् । तर थारुहरुले दोस्रो दिन मात्रै जमरा राख्ने गर्दछन् । यो समुदायको चलन अनुसरा दुतिया (जुन) नहेरीकना जमरा राख्नु हुदैन भन्ने हो ।

तर दहितहरुमा भने घटस्थनपनाकै दिन जमरा राख्ने चलन पहिलैदेखि नै चल्दै आएको हो । थारु समुदायमा जुन देखिएको सप्तमीकों दिन घर आंगन सरसफाई गर्ने, देवथान लिपपोट गर्ने, देउता नुहाउने, पिठो पिसाउने, पैनसटोपी (ढिकरी पकाउने भाडा) धुने गर्दछन् । त्यो दिन स्वर्गिय भएका पुर्खाहरुलाई पातनबट निम्तो गर्ने गर्दछन् । अष्टमीको दिन सांझा आफ्नो देवतालाई ढिकरी चढाउने गर्दछन् । ढिकरी पकाउने बेला स्वर्गिय भएका पुर्खाहरुलाई सम्झेर काठीक बोझ (डाउराको भारी), पौवा (चप्पल), बाती (बत्ति अर्थात दियो) धकिया, गरि ढिकरी विभिन्न अकार बनाउने गर्दछन् । नवमीमा विहानै कुखुराको बलि दिन्छन् । यो दिन थारुहरुको घरमा ७ खाले परिकारहरु पाकेको हुन्छ । जस्तै सिढरा माछा, ठुसा (समुरोको गेडा भिजाएर पाकाउने) पवयको साग मासु, आलु लगायतका तरकारीहरु हुन्छ । यी सबै परिकार लिएर गाउँ भन्दा दक्षिणको खोला, तलाउ वा नदीमा गई सामुहिकरुपले स्वर्गिय पुर्खाहरुलाई पुनः पितृ पठाउन (विदाई) गर्ने चलन छ ।

थारु गाउँमा डसियाका (दशैं) को बेला देवताको पातामा चढाउने सबै सामान नयाँ प्रयोग हुन्छ । डस्यामा चढाएको सामान बेटको लठ्ठी, बहर्नी (सिरुको कुचो), झोला, फलामको काँटा, माटाका घोडा, दियो, भित्तामा लगाउने पञ्जाको छाप एक वर्षसम्म कायम रहन्छ । त्यसलाई अर्को डसियामा (दशैं) परिवर्तन गरिन्छ । थारु समुदायमा डस्यामा आफ्ना देवतालाई बाबरी फूल अनिवार्य चढाउछन् । घरमा छैन भने कहिबाट खोजेरपनि देवतालाई जमरासंगै बाबरी फुल चढाउने चलन छ । घरमा विषलु किरा फट्यांग्रा, सर्पहरु ढपाउनकोलागि बाबरी फूल प्रयोग गरिएको पुर्खाहरुको तर्क छ ।

डसियामा कुपिण्डो बली

थारु समुदायमा जीवजनावरको बध गरेर देवतालाई बली चढाइदैन । घरबारीमै फलेको कुपिण्डोको बलीदिने प्रचलन छ । अद्यापि धेरै गाउँमा कुपिण्डोकै बली दिइन्छ । दशैंको पूजा गर्नुअघि बारीमा फलेको कुपिण्डो खाने प्रचलन थारु समुदायमा छैन । पूजा गरेपछि मात्रै तरकारीकोरुपमा खानेगरिन्छ । कुखुराको बलि दिनु पुर्व कुपिण्डो काट्ने चलन छ । ढिकरी पुज्ने दिन अर्थात अष्टमीको दिन साँझा कुपिण्डोमा चार सिन्को गोभेर भेडाको अकार दिन्छन् र विहान शुरुमै त्यही कुपिण्डो चढाउने चलन छ । थारु समुदायले डसिया (दशैं)लाई सम्बन्ध जोड्ने संगमकोरुपमा लिने गर्दछन् ।

डसिया (दशैं) पूजा प्रकृतिसँग जोडिएको छ । धर्मशास्त्रीको विचारमा पृथ्वीका सबै जीवजन्तु बरावर हुन् । सबैको पीडा र दुःख समान छ । एकले अर्कोलाई मारेर, बधगरेर आफ्नो स्वार्थ पूरागर्नु सेवा होइन, कल्याण होइन । मानवले बनाएको त्यो त स्वार्थी भावना हो । त्यसले कहिल्यै चराचरजगतको कल्याण गर्दैन । शक्तिकी स्वरुप जगतमाताले बली मागेकी थिइनन् । मानिसको स्वार्थ र अज्ञानताले बलीदिने प्रचलन शुरुभयो । यसको दोषी हामी मानव स्वयम् हौं । शास्त्रीय मान्यतामा ‘बली’ को अर्थ ‘उपहार’ हुन्छ । उपहारमा खीर, फलफूल, मिठाई, नरिवल, ढिक्री जेपनि हुनसक्छ ।

भगवानको पूजागर्ने अधिकार धनी र गरिब सबैलाई समान छ । जोसँग जे छ, उसले त्यही उपहार देवतालाई चढाउन पाउँछ । उहिले मानिस जंगलमा घुम्थे । शिकार गरी जीवन निर्वाह गर्दथे । माछा मारेर जीवनगुजारा गर्दथे । त्यतिबेला उनीहरुसँग भगवानलाई चढाउने आजकोजस्तो चिजवस्तु थिएन । त्यसैले उनीहरु आफूसँग भएको सामान चढाएर देवताको पूजापाठ गर्दथे ।

उनीहरुको जीवन प्रकृतिमै निर्भर थियो । माछामारेर जीवन धान्नेसँग माछामात्रै थियो । वनजंगलमा शिकार गर्नेसँग शिकार मात्रै र अन्न उब्जाउने किसानसँग अन्नमात्रै थियो । त्यसैले उनीहरु भगवानलाई त्यही माछा, मासु र अन्न चढाएर पूजापाठ गर्थे । तर त्यसैलाई आधार मानी देवीदेवतालाई बली चढाउने प्रचलन मान्नुलाई मानवीय अज्ञानताकोरुपमा कतिपयले अथ्र्याउँछन् ।

दशैंमा सेतो टीका

थारु मसुदायमा सेतो रंगलाई प्राकृतिक रङको रुपमा लिने गर्दछन् । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोज अनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रंगभन्दा त्यही कृतिम अन्य रङले रंगिइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरंगी बनेको छ । चाडपर्वमा विभिन्न रंगी चिजवस्तुको निर्माण र खपत पनि हुनेगर्दछ ।

यहाँसम्मकी मान्छेले चाडपर्वमा लगाउने टीकाको रङ पनि विभिन्न रङ मिसाएर बनाउने प्रचलन शुरु भएको छ । जसले गर्दा थारुहरु पनि पछिल्लो अवस्थामा रंगिन टीका प्रति आकर्षित भएका हुन् र साथी भाईलाई टीका लाउने क्रममा आफ्नो रोजाई अनुरुप टीका ग्रहण गर्दछन् ।

थारु समुदायले डसिया (दशैं)मा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । देवतालाई पनि सोतो चढाउछन् त्यो टीका चामलको पीठोबाट बनाउने गर्दछन् । टीकासहित जमरा, बेबुरी (बाबरी) को फूल ग्रहण गर्छन् । अरुबेला दौनाबेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले डसिया (दशैं)मा टीकासँगै विशेषरुपले दौनाबेबुरीको फूल ग्रहण गर्छन् । थारु समुदायकाले निधारमा मात्रै टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलियो होस् भन्ने मनोकामना गरिन्छ ।

bhajani 7

सखिया नाचको रौनक हराउँदै

थारु समुदायमा सखियानाच प्रमुख नाचमध्येको एक हो । थारु चेलीहरुले लहरै लाइन लागेर मादलको तालमा नाच्ने गर्छन् । सखियानाचमा विशेष किसिमको थारुगीत गाइन्छ । सखीया नाचको गीत महाभारतको कथामा आधारित लामो पैधारको छ । त्यसैले कृष्णजन्माष्टमीदेखि गाउन शुरुहुने गीत डसिया (दशैं) अन्त्य गर्नुपर्छ । नाचकालागि कम्तिमा दुई र वढीमा चारजनासम्म मादले हुन्छन् । मादले पुरुष र महिला दुवै हुनसक्छन् । तर नाच्नेहरु महिला मात्र हुन्छन् ।

गीत गाउँदा अगुनिया (गीत उठाउने) र उठाएको गीतलाई दोहो¥याएर गाउने (पछगुनिया) हुन्छन् । मादलकै तालसँग गीत पनि गाइन्छ । सखियानाच नभएको थारुगाउँ सुनसान हुने डसियाको रौनक रंगविहिन हुने गर्दछ । त्यसैले हरेक वर्ष थारुगाउँमा सखियानाच नाचिन्छ । नाचले थारुगाउँ गुञ्जयमान हुँदा यो बेला बेग्लै रौनक हुन्छ ।
सखिया नाच मादलको तालमा युवतीले तालमा ताल मिलाएर सामूहिक रुपमा नाच्ने नृत्य विशेष गरेर साँझपख नाच्ने गरिन्छ । सुरुमा भलमन्साको घरमा र पछि गएर गाउँका अन्य व्यक्तिको घरमा गएर पनि सखिया नाच्ने गरिन्छ । यो वर्षपनि धनगढी उपमहानगरपालिका–७ पटेला गाउँका अमृत दहितका अनुसार भलमन्साको घरमा खसिया नाच भईरहेको छ । यो वर्ष कञ्चनपुरको घोडा, पिपलारी, जोनापुर, कैलालीको भादा, पटेला, गप्का लगायतका गाउँमा डसियाको सुरुवातसंगै सखिया नाच भइरहेको छ । थारु समुदायमा डसियादेखि देवारी (तिहार) सम्म निकै रमाइलो गरेर सखिया नाच नाच्ने गरिन्छ । तर, पछिल्लो समय धेरैजसो थारु गाउँमा सखियाको मादल बजेको आवाजसमेत सुनिन छोडेको छ । गतवर्षदेखि भने कोरोनाका कारण सखिया नाच केही गाउँमामात्रै सीमित भएको हो । यो नाच सामूहिक रुपमा नाचिने भएकोले कोरोना सर्ने डरले पनि थारु बस्तीमा सखिया नाच हुन नसकेको हो ।

यसरी डसियासँग थारू समुदायको धेरै चिज जोडिएको छ । तर समय परिवर्तनसँगै थारूहरुले आफ्नो मौलिक संस्कृतिहरु छोड्दै बाह्यसंस्कृतिप्रति मोहित हुने क्रमपनि जारी नै छ । त्यसकारण थारु कला, संस्कृति र भाषा जोगाउन हामी सबैको कर्तव्य हो र सबै जातजातीको भाषा कला संस्कृतिको जर्गेना गर्न सरकारको दायित्व हो । कर्तव्य र दायित्व पुरा गर्न हामी सबै लाग्नै पर्छ । 

लेखक केर्नी न्युज डटकमका प्रकाशक, सम्पादक हुन् ।

टिप्पणीहरू
Loading...