पहलमानपुर, २ श्रावण।। वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण संघ टीकापुरमाको संयुक्त साझेदारीमा एकीकृत बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजना अन्तर्गत संचालित जीवन उपयोगी सिप तथा रूपान्तरण कक्षाको अनुगमन गरिएकाे छ । जिल्लाकाे घोडाघोडी नगरपालिका ५ सरैयामा सप्ताहिक रूपमा संचालन गरिएकाे कक्षाकाे अनुगमन घोडाघोडी नगरपालिका र बाल कल्याण संघका कर्मचारीहरुले संयुक्त रुपमा गरेका हुन् ।
उक्त अनुगमन टाेलिमा घाेडाघाेडी नगरपालिकाकी उप प्रमुख गुलिया कुमारी चौधरी, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह, महिला तथा बालबालिका शाखा प्रमुख इन्दु जोशी, कर्मचारी निरु चन्द, बाल कल्याण संघ टीकापुरका अध्यक्ष धनबहादुर बि.क र फिल्ड अफिसर प्रशु राम चौधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कक्षामा सहभागी भएपश्चात हरेक साता बालअधिकार, आत्माजागरण, बालविवाह गर्दा हुने असर, बाल तथा यौन दुर्ब्यहारबाट बच्ने उपाय, बचत तथा खर्च व्यवस्थापन, व्यक्तिगत सरसफाई, यौन तथा प्रजनन स्वास्थ्य किशोरावस्थामा आउने परिवर्तनका साथै आत्मारक्षा सम्बन्धी सीप लगायतकाे प्रशिक्षण गरिएकाे अनुगमनका क्रममा सहभागिहरुले बताएका छन् ।
उनिहरुले दैनिक जिवनमा प्रयोग हुने व्यवहारिक कुराहरु सिक्न पाउँदा आफुहरुमा लजाउने, डराउने बानी हटेकाे र क्षमता अभिवृद्धि भई आफुहरुमा आफ्नो समस्या खुलेर राख्न सक्ने बोलिकाे विकास भएकाे बताएका छन् । रुपान्तरण कक्षाले आफुहरुमा आफ्नाे लक्ष्य निर्धारण गरि समाज र परिवारमा आफ्ना कुराहरु निर्धक्कका प्रस्तुत गर्न सिकेकाे सहभागीहरुले बताएकाे समाजिक परिचालक सोनुराम चौधरीले जानकारी दिएका छन् ।
यस्तै रुपान्तरण कक्षाले बालबालिकाहरुको व्यवहारिक जिवनमा परिवर्तन ल्याउने, लागुपदार्थ दुर्ब्यसनीमा फस्नबाट जोगिने, बाल विवाह रोकथाम गराउने र बालबालिकाहरुलाई उनिहरुकाे पढाई र भबिष्य प्रति सचेत गराउने हुनाले यस्तो कक्षा नगरपालिकाको प्रत्येक वार्डमा संचालन गर्न आवश्यक रहेको उपप्रमुख गुलिया कुमारी चाैधरीले बताईन् ।
उनले आगामी दिनहरुमा समेत वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण संघ टीकापुर संग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने कुरामा नगरपालिका सधैं साकारात्मक रहेको प्रतिबद्धता समेत जनाएकी छिन् ।
२६ हप्ता सम्म चलेको कक्षामा १३ देखी १८ बर्ष सम्मको दर्ता भएका बालबालिका, उनिहरुकाे परिवारका सदस्य तथा जोखिममा परेका बालबालिकाहरु गरि जम्मा २५ जना सहभागी भएका थिए । कक्षामा सोही उमेर समुहका २ जना साथी शिक्षकहरुले सहजीकरण गरेका थिए ।
