धनगढी, २१ भदौं ।। जसले जे भने पनि देश माओवादीकै एजेण्टामा चलेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
एक अर्को प्रसङ्गमा बोल्दै प्रचण्डले भने ‘हेडक्वाटरका वरिपरि घुम्ने मान्छेले टिकट पाउँदैनन् तपाई ढुक्क हुनुहोस् जो जनताको साथमा हुन्छ, पार्टी कार्यकर्ताको साथमा हुन्छ जो जित्छ उसैले पाउँछ, हेड क्वाटर वरिपरि घुम्नेले टिकट पाउँदैनन् ।’ पार्टीमा सिनियर हुनु र निर्वाचनमा टिकट पाउनु एउटै कुरा नभएको प्रचण्डले बताए । प्रचण्डले भने ‘जसको पक्षमा जनधार छ उसले नै टिकट पाउने हो, सबै कुराको मूल्याङ्कन गरेर पठाउनु होला ।
माओवादी केन्द्रका पार्टी नेता तथा कार्यकर्ता ईमान्दार भएर एक पटक निर्वाचनको मोर्चामा खटिन प्रचण्डले निर्देशन दिएका छन् । प्रचण्डले भने ‘ मङ्सिर ४ लाई केन्द्रित भएर दृढसंकल्प सहित उच्चमनोवलका साथ मैदानमा जानुहोस् हामीलाई कम्युनिस्टमा पहिलो शक्ति बन्न कसैले रोक्न सक्दैनन् ।’
वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरूप भ्रष्टाचार गर्ने मेसिन भएको प्रचण्डले बताएका छन् । निर्वाचन पछि वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्नका लागी सडकमा जाने प्रचण्डले उद्घोष गरेका छन् ।


