कैलाली, २४ भदाैं ।। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। नेपाल जेसीजको आयोजनामा टीकापुरमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले कर्मचारीको असहयोगका कारण जनअपेक्षाका सवालमा अवरोध भएको बताएका हुन्।
‘म मेरो पाँच वर्षको अनुभवले भन्दैछु, जनताका पक्षमा काम गर्न खोज्दा अवरोध भयो’ उनले भने, ‘कर्मचारीतन्त्र परिवर्तनका लागि आवाज उठाउन जरुरी छ।’ उनले लोकसेवा पास गरेकै कारण कोही पनि कुशल प्रशासक हुन नसक्ने बताए।
मुख्यमन्त्री भट्टले विकासका लागि ५ वर्षको समय प्रयाप्त नभएको बताउँदै प्रदेश सरकारले थालनी गरेका विकासका कामको परिणाम आउन अझै केही वर्ष लाग्ने बताए। ‘हामीले थालनी गरेका छौं। परिणामका लागि अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ’ उनले भने।

