घोडाघोडी बहुमुखी क्याम्पसकाका बिद्यार्थीहरु द्धारा शुल्क बृद्धिको बिरोध
पहलमानपुर, ८ पौष ।। कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले क्याम्पस प्रशासनले मनोमानी ढङ्गले शुल्क बृद्धि गरेको भन्दै बिरोध गरेका छन् । बिहिवार सो क्याम्पसका विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा विद्यालय प्रशासनलाई शुल्क बृद्धि लगायतका विभिन्न १२ बुंदे माग सहितको ज्ञापनपत्र बुझाउँदै बिरोध जनाएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष जीवन बि.सी. द्धारा हस्तक्षरित ज्ञापनपत्रमा उल्लेख छ ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को समयमा विद्यार्थीहरुको शैक्षिक वातावरण अस्त ब्यस्त हुँदा शैक्षिक भविष्यका बारेमा सोच्नुको सट्टा अभिभावकहरुको ढाड सेक्ने गरि विद्यार्थीहरुको आधिकारीक संस्थालाई थाहा नहुने र छलकपट पुर्ण रुपले गरिएको शुल्क बृद्धिको निर्णय प्रति स्वतन्त्र विद्यार्थी युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।’
“ विद्यार्थीहरुका समस्याहरू एक पछि अर्को गर्दै थपिँदै जानु त्यसको परिणाम स्वरूप आज स्वतन्त्र विद्यार्थी युनियन सम्पूर्ण विद्यार्थीको समस्याहरुको समाधानको लागि अघि बढेको छ तसर्थ, यस क्याम्पसमा अध्ययनरत हरेक विद्यार्थीका समस्याको समाधान र मुख्य जिम्मेवारी बहन गर्न सम्बन्धित निकायको ध्यान केन्द्रित गरी समाधान तर्फ उन्मुख हुँदै विभिन्न माग राखेका छौं ।” भनी पुनः उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा थप भनिएको छ ‘ आजको मिति देखि २४ घण्टा भित्र सम्पुर्ण समस्याहरु समाधानका लागि पहल कदम नलिएमा थप आन्दोलनका कार्यक्रमहरु घोषण गरिने छ ।’
उक्त क्याम्पसका विद्यार्थीहरुले शुल्क बृद्धि निर्णय फिर्ता लिनुपर्ने लगायत अन्य मागहरु समेत क्याम्पस प्रशासन समक्ष राखेका छन् । विद्यार्थी कल्याणकारी कोषको रकम हिसाव गरि बैंक खातामा दाखिला गर्नुपर्ने, समाज कार्य बिषयको प्रयोगात्मकको नाममा लिइने अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका विद्यार्थीहरुको हितमा क्याम्पस प्रमुख बिनोद कुमार खड्कालाई विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

