पहलमानपुर, २५ भदौं ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा किशोरीहरुका लागि संचालित ४५ दिने ब्युटिपार्लर तथा हेयर कटिङ्ग तालिम शनिवार सम्पन्न भएको छ । एनआरएन वुमन फोरम स्विजरल्याण्डको आर्थिक सहयोगमा न्यु दिपा ब्युटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा संचालित तालिम आज सम्पन्न भएको हो ।
सो तालिमका मुख्य प्रशिक्षक तथा न्यु दिपा ब्युटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरका संचालिका शोभा विनाडीको सभापतित्वमा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझा रहेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओझाले किशोरीहरुका लागि संचालित तालिमले उनिहरुलाई आत्मानिर्भर बनाउन सहयोग पुर्याउने भएकाले सहभागिहरुले आफुले सिकेका ज्ञान, सिपलाई व्यवहारमा लागु गर्नुपर्ने सुझाए । साथै उनले हाम्रो समाजमा ब्याप्त गरिबी र बेरोजगारीलाई बिस्तारै कम गर्दै लैजान यि अनि यस्ता सिपमुलक तालिमले ठुलो भुमिका समेत खेल्ने बताए ।
यस्तै तालिमकी प्रशिक्षक शोभा विनाडीले आफुले सिकेको ज्ञान, सिप अरुलाई समेत सिकाउने अवसर प्रदान गर्ने संघ, संस्थाहरुलाई आभार व्यक्त गर्दै आगामी दिनमा साथ, सहयोगको अपेक्षा गरेकी थिइन् । सो तालिममा घोडाघोडी नगरपालिकाका विभिन्न वडाका सात जना किशोरीहरुको सहभागिता रहेको थियो ।


