घोडाघोडीमा निजिस्रोत शिक्षक आन्दोलित : आज हातमा कालो पट्टि बाँधेर काम गर्दै
पहलमानपुर, १४ कार्तिक ।। कैलालीको घोडाघोडी नगरपालिका अर्न्तगत रहेका सामुदायिक विद्यालयमा कार्यरत निजिस्रोत शिक्षकहरुले चरणबद्ध आन्दोलनको थालनि गरेका छन् । शनिवार पत्रकार सम्मेलन मार्फत एक विज्ञप्ती जारि गर्दै उक्त आन्दोलन कार्यक्रमको जानकारी गराइएको हो । १३ गते शनिबार पत्रकार सम्मेलन गर्दै शुरु भएको आन्दोलनका कार्यक्रम अर्न्तगत आज दोस्रो दिन आइतबार शिक्षकहरुले विद्यालयमा हातमा कालो पट्टि बाँधेर कामकाज गरिरहेका हुन् ।
आफुहरुले विगत लामो समय देखी भोग्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि स्थानीय सरकारलाई पटक पटक ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र बुझाउदा समेत स्थानिय सरकारबाट मागहरु सम्बोधन गर्ने कुरामा कुनै सुनुवाई नभएकाले आफुहरु संघर्षमा जान बाध्य भएको सामुदायिक विद्यालयमा कार्यरत निजिस्रोत शिक्षक संगठन घोडाघोडीका अध्यक्ष मान बहादुर ढुंगालले बताए ।
निजिस्रोत शिक्षक संगठनको शनिवार भएको बृहत भेलाले चरणबद्ध रूपमा संघर्षका आफ्ना कार्यक्रमहरु सार्वजनिक गरेको हो । संगठनले संघर्षका कार्यक्रमहरुलाई सफल पार्नका निम्ती पेशागत संघ संगठन, शिक्षक महासंघ, राजनितिक दल, विद्यालय व्यवस्थापन समिती, शिक्षक, बुद्धिजिवी पत्रकार विद्यार्थी तथा सरोकारवाला सम्पूर्णमा आवश्यक सहयोग गरिदिनका लागि हार्दिक अपिल समेत गरेको छ ।