Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडीमा आयोजित चरा फोटोग्राफी प्रतियोगिता सम्पन्न

0 16

कैलाली,१८ मंसिर । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा बिहीबारदेखि सुरु भएको चरा फोटोग्राफी प्रतियोगिता शनिबार सम्पन्न भएको छ । घोडाघोडी ताल र सो तालमा पाइने चराको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक ‘बर्ड फोटोग्राफी’ प्रतियोगिता आयोजना गरिएको थियो । बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले आयोजना गरेको सो प्रतियोगितामा काठमाण्डौं, पोखरा, चितवन, बर्दिया, कैलाली, कञ्चनपुरका वाइल्ड लाइफ फोटोग्राफर, पत्रकार, संरक्षणकर्मीको सहभागिता रहेको थियो । 

प्रतियोगितामा सहभागी फोटोग्राफरहरुले घोडाघोडी तालमा पाइने जुनसुकै चराहरुको दुई दिनसम्म फोटो खिचेको र आफूले खिचेको उत्कृष्ट तीन वटा फोटो प्रतियोगिताका लागि पेस गर्ने बोर्डका उपाध्यक्ष दयाराम चौधरीले बताए । उनले घोडाघोडी ताल र यहाँ पाइने चराको प्रचारप्रसार गर्ने लक्ष्यका साथ पहिलो पटक चरा फोटोग्राफी प्रतियोगिता आयोजना गरेको जनाए । 

प्रतियोगितामा सर्वोत्कृष्ट फोटो खिच्ने फोटोग्राफरलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । यसैगरी, दोस्रो स्थान प्राप्त गर्नेलाई २० हजार र तेस्रो स्थान प्राप्त गर्ने फोटोग्राफरलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट फोटोको छनोट विज्ञहरुले गर्ने जनाइएको छ । घोडाघोडी सिमसारलाई चरा सेन्चुरी घोषणा कार्यक्रमको अवसरमा पुरस्कार प्रदान गर्ने जनाइएको छ । घोडाघोडी नगरपालिकाले केही दिनभित्रै घोडाघोडी सिमसारलाई चरा सेन्चुरी घोषणा गर्ने जनाइएको छ । 

कैलालीको ठूलो सिमसारको रुपमा रहेको घोडाघोडी ताल र आसपासका क्षेत्रमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये ६४ प्रजातिका जलपक्षी रहेको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए । उनका अनुसार यो सिमसारमा विश्वका दुलर्भ १२ प्रजातिका चराचुरुङ्गी पाइने गरेका छन् । प्रतियोगितामा सहभागी बर्दियाका टुर एण्ड ट्राभल्स सञ्चालक राजन चौधरीले बोर्डले अगाडि सारेको कदम सह«ानीय रहेको बताए । उनले घोडाघोडी क्षेत्र पर्यटनको दृष्टिकोणले ‘भर्जिन’ क्षेत्र रहेको उल्लेख गर्दै प्रतियोगिता आयोजनाले घोडाघोडीलाई नेपालकै पहिलो बर्ड सेन्चुरी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

टिप्पणीहरू
Loading...