पहलमानपुर, ९ मंसिर ।। कैलाली जिल्लाकाे मध्यवर्ती क्षेत्रमा रहेकाे प्रशिद्व धार्मिक स्थल घाेडाघाेडी मन्दिर परिसरमा शनिवारबाट हुन गईरहेकाे घाेरीघाेरा लवाङ्गी पुजा तथा थारु साँस्कृतिक महाेत्सवकाे तयारी पूरा भएकाे छ ।
घाेडाघाेडी तथा संस्कृति संरक्षण समाजकाे आयाेजना तथा नगर बडघर, भल्मन्सा संजालकाे सहकार्यमा भईरहेकाे महाेत्सवकाे सम्पुर्ण तयारी पूरा भईसकेकाे आयाेजकले जनाएकाे छ ।
साे महाेत्सव सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक पर्ने अतिथीगणहरुलाई पत्रचार, प्रचार प्रसार, मञ्च, स्वागत गेट निर्माण तथा ब्यवस्थापन, स्टल बुकिङ्ग लगायतकाे तयारी भईसकेकाे घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्रु चौधरीले जानकारी दिए । साथै उनले कार्यक्रम अवधिभर प्रर्दशन गरिने माैलिक झाँकीहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुकाे समेत टुङ्गो लगाई सकेकाे बताए ।
“थारु भाषा, कला, धर्म, संस्कृतिके गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे चिन्हैना हमार अभियान” भन्ने मूल नाराका साथ हुने लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सवमा थारु लाेक गायक मनिराम करियामघरिया, गायक सन्तराम चाैधरी, ए के चाैधरी, अन्जान चाैधरी, गायक तथा माेडेल के थारु, गायिका श्रीदेवि थारु, दुर्गा चाैधरी, माेडेल भानु चाैधरी, आदर्श महताे, अस्मिता चाैधरी लगायतकाे बेजाेड प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयाेजक सिताराम चाैधरीले बताए ।
यसका साथै महोत्सवमा थारु समुदायको पुरानो बरका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, हाेरी नाच, दिन नचुवा नाच र धमार, मांगर गित प्रस्तुत हुने उनले बताए ।
थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गर्दै आएको बताइन्छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ । पछिल्लो एक दशक देखि यहाँ महोत्सवको आयोजना गरी लवाङ्गी पूजा मनाउने गरिन्छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. १ स्थित घाेडाघाेडी मन्दिर परिसरमा आयाेजना हुने कार्यक्रमकाे उद्घाटन हालै सम्पन्न संघ तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा कैलाली क्षेत्र नं. ३ बाट संघिय साँसदमा निर्वाचित गंगाराम चाैधरीले गर्ने बताईएकाे छ । महाेत्सव मंसिर १० गते शनिवार देखि १२ गते सम्म चल्ने छ ।

