गौरीगंगामा अनिश्चितकालीन तालाबन्दी यथावत्, वार्ताको पहल गरिरहेको नगर प्रमुखको प्रतिक्रिया
२९, भदौ, चौमाला ।। कैलालीको गौरीगंगा नगरपालिका पाँच राजनीतिक दलहरूले राखेका ६ बुंदे मागको बेवास्ता भएको भन्दै सोमबार देखि गरिएको तालाबन्दी मंगलबार पनि जारी रहेको छ । राजनीति दलहरूले आर्थिक पारदर्शिताको माग सहित बुझाएको ज्ञापनपत्र नगर प्रमुख भिम बहादुर देउवाले बेवास्ता गरिरहेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति दिनेश राज जोशीले बताएका छन् ।
हामीले संयुक्त रूपमा उठाएका नदिजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग विद्यालयमा बिषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगाएतका ६ बुंदे मागको नगरपालिकाबाट आधिकारिक रुपमा सम्बोधन गर्ने प्रतिबद्धता सहित छलफलको प्रक्रिया नहुंदा सम्म तालाबन्दी यथावत् रहने जोशीले बताएका छन् ।
सोमबार देखि तालाबन्दी गरिएको भए पनि तालाबन्दी खोल्ने र समस्या समाधान गर्न नगरबाट पहल नभएको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । हाम्रो नगरपालिकासँग आम जनसरोकारकाको बिषयमा प्रत्यक्ष देखिएका अनियमितता रोक्न र बास्तबिकता जनता समक्ष पुर्याउन गरिएको मागमा नगर प्रमुखको उदासीनता रहेकोले ठोस प्रतिबद्धता सहितको बार्ता नभए सम्म तालाबन्दी नखोल्ने माओवादी केन्द्रका नेता देवि दत्त कडेलले बताएका छन् ।
नगरप्रमुखले बेवास्ता गरिरहेकाले मागको सुनुवाइ तथा दलीय सहमति नहुंदा सम्म तालाबन्दी नखोल्ने समेत बताएका छन् । नगर प्रमुख भिम बहादुर देउवाले भने वार्ताको प्रयास गरिएको छलफल गरि नगरपालिकाको काम सुचारु गर्नेमा गम्भीर रहेको बताएका छन् । दलहरुलाई छलफलको लागि औपचारिक आव्हान गर्न आफू तयार रहेको र आज दिनभरिमा समस्याको समाधान हुने बताएका छन् ।
नगरपालिकाले गत आर्थिक वर्षमा ठेक्का सम्झौता नगरि नदीजन्य पदार्थ संकलनको जिम्मा कार्यकर्तालाई दिएपछि ७० वटा ठेलि गायब गरि व्यापक आर्थिक अनियमितता नगरप्रमुखको संरक्षणमा भएको भन्दै राजनीतिक दलहरुले हिसाब माग गरेका छन् । दलहरूले गत शुक्रबार समेत नगरपालिका तालाबन्दी सहित एक घण्टा धर्ना दिएका थिए । गौरीगंगामा हिजो सोमबार देखि माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी ५ दलीय गठबन्धनले अनिश्चित कालीन तालाबन्दी गरेका छन् ।