काठमाडौं, २८ भदाैं ।। स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस बारा जिल्ला अनुशासन समितिले खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बन गरेको छ ।
अन्तरघात गरेको आरोपमा पार्टीका सहमहामन्त्रीसमेत रहेका चौधरीलाई अनुशासन समितिका संयोजक अरुणकुमार यादवले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेका हुन् ।
अनुशासन समितिले उमाकान्तसँगै पूर्वसांसद एवम् कांग्रेसका महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का सभापति रामप्रवेशप्रसाद यादवलाई पनि निलम्बन गरेको छ ।
कांग्रेस बारामा दुई वटा समिति क्रियाशील छ । दुवै समितिले एकले अर्कालाई कारबाही गरिरहेका छन् । यसै क्रममा अर्को समूहले खानेपानी मन्त्रीलाई निलम्बन गरेको हो ।
स्थानीय निर्वाचनमा कांग्रेसकै उम्मेदवार हराउन भूमिका खेलेको खानेपानी मन्त्री चौधरीलाई आरोप लगाउँदै विपक्षी समूहले कारबाही गरेको हो ।
बारामा सभापति शेरबहादुर देउवानिकट सहमहामन्त्री फरमुल्लाह मन्सुरले एउटा चलाएका छन् भने खानेपानी मन्त्री चौधरीले अर्को गुट चलाएका छन् ।
जिल्लामा एक समूहले अर्को समूहलाई कारबाही गर्ने गरेतापनि खानेपानी मन्त्रीलाई कारबाही गर्नुको अर्थ नरहेको कांग्रेस नेता बताउँछन् ।
बारामा दुईटा समिति नै क्रियाशील रहेकाले दुवै समितिबाट भएका कारबाही वा गतिविधिलाई मान्यता नदिने केन्द्रीयस्तरमा नेताहरूबीच सहमति भएको बुझिन्छ ।

