पहलमानपुर, ६ मंसिर ।। प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी भएका छन् । एक लाख सात हजार ६५९ मतदाता रहेको ३ नम्बर क्षेत्रमा कुल ६३ हजार ७४० मत खसेको थियो ।
जसमध्ये चार हजार २१ मत बदर भएको छ भने ५९ हजार ७१९ मत सदर भएको छ । सो क्षेत्रमा २३ हजार १२० मत प्राप्त गरी उन्मुक्तिका चौधरी विजयी भएका हुन् । उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनलाई पाँच हजार ३७१ मतले पछिपार्दै विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कुन्दनले १७ हजार ७४९ मत प्राप्त गरे ।
त्यसैगरी नेकपा (एमाले) का गौरीशङ्कर चौधरीले नौ हजार ८७४ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विरेन्द्रबहादुर बमले सात हजार ४५ मत प्राप्त गरे। नेपाल किसान पार्टीका उम्मेदवार गङ्गादेवी पौडेलले १६१, नेपाल कम्युनिष्ट पार्टी (माले) का परेकबहादुर रावलले ९९०, स्वतन्त्र उम्मेदवार नविनकुमार बोहराले ४८४ र अर्का स्वतन्त्र उम्मेदवार रमेश आचार्यले २९६ मत प्राप्त गरेका छन् ।
छोटो प्रतिक्रिया दिंदै विजयी भएका उम्मेदवार चौधरीले आफूले अपेक्षा गरेको नतिजा आएको बताए । जनताहरुले जसरी आफूलाई लोकप्रिय मत दिएर जिताउनुभयो, त्यसरी नै सल्लाह सुझाव लिएर अघि बढ्ने उनले बताए ।
