Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा आफ्नो गतिविधि बढाउँदै नागरिक उन्मुक्ति पार्टी

0 74

धनगढी, २६ फागुन । यसै वर्ष गठित नागरिक उन्मुक्ति पार्टीले कैलालीको पूर्वी क्षेत्रमा आफ्नो गतिविधिलाई बढाएको छ ।

स्थानीय तहको चुनावलाई लक्षित गरेर सो पार्टीले रेशम चौधरीको पकड क्षेत्रमा आफ्नो गतिविधि बढाएको हो । केही महिना अगाडि रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सो पार्टी गठन भएको थियो । पार्टी अध्यक्ष श्रेष्ठ टीकापुर घटनामा दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशमकी श्रीमती हुन् ।

उनी नेतृत्वको पार्टीले कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का स्थानीय तहमा आफ्नो गतिविधिलाई व्यापक पारेको छ । सो क्षेत्रको टीकापुर नगरपालिका, भजनी, जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा नगर/गाउँपालिका स्तरीयदेखि लिएर वडा र टोल स्तरीय कमिटी गठन भइसकेका नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य गंगा चौधरीले बताए।

उनले जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिकामा अहिले समिति विस्तारका कार्यलाई अगाडि बढाएको उल्लेख गर्दै बाँकी स्थानीय तहमा पनि चाँडै कमिटी र संगठन विस्तार गर्ने उल्लेख गरे ।

नवगठित नागरिक उन्मुक्ति पार्टीमा स्थानीय तहका ३० जना जनप्रतिनिधि नै आवद्ध भएका छन् । जसमध्ये टीकापुर नगरपालिका छ र भजनीका एक गरी सात जना वडा अध्यक्षहरु रहेका छन् । कैलालीको पूर्वी क्षेत्रमा मुख्य सबै राजनीतिक दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिरहेको केन्द्रीय सदस्य चौधरीले जिकिर गरे । ‘हाम्रो पार्टीमा सबै जातजातिका व्यक्तिहरु आवद्ध भएका छन्’, उनले भने । ‘त्यसैले पनि ठूला दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिरहेका छन् ।’

सो पार्टीले पालिका स्तरीय समितिका अध्यक्षलाई पालिका प्रमुख र वडा स्तरीय समितिका अध्यक्षहरुलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने गरी गृहकार्य गरिरहेको बताइएको छ । यद्यपि, टुङ्गो भने लगाइएको छैन । चैत पहिलो सातासम्म उम्मेदवारका आकाङ्क्षीको टुङ्गो लाग्ने केन्द्रीय सदस्य चौधरीले जानकारी दिए ।

कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा रेशम चौधरीले अत्यधिक मत ल्याएर विजयी भएका थिए । उनको बलियो पकड रहेको क्षेत्रमा अहिले यो पार्टी टोल–टोलमा पुगिसकेको छ । जोशीपुर लगायत विभिन्न स्थानीय तहमा अध्यक्ष श्रेष्ठ, प्रवक्ता दामोदर पण्डित शर्मा लगायतको उपस्थितिमा सो पार्टीका कार्यालय पनि उद्घाटन गरिएका छन् ।

School
टिप्पणीहरू
Loading...