पहलमानपुर, १२ जेठ ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ४ स्थित माघी होम स्टेमा २ दिने मत्स्य पालन तथा ब्यवस्थापन तालिम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका तथा युएनडिपीको आर्थिक सहयोग तथा सेवक नेपाल द्धारा संचालित हरित उद्यमशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
सेवक नेपालका अध्यक्ष पवन भण्डारीको अध्यक्षतामा भएको तालिममा युनडिपीका फिल्ड कार्यालय धनगढीका प्रमुख बैजन्ती गिरी सिंह प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथी घोडाघोडी नगरपालिकाका कृषि साखा प्रमुख जनक बहादुर धामी रहेका थिए । तालिमको सहजिकरण गेटा मत्स्य पालन केन्द्र धनगढीका प्रशिक्षकहरुले गरेका थिए ।

तालिममा आफ्नो बोल्दै प्रमुख अतिथी सिंहले युएनडिपीले गर्ने परियोजनाहरुमा महिला, दलित, विपन्नवर्ग, एकल महिला, सिमान्तकृत समुदाय, कोरोनाले रोजगारी गुमेका परिवारहरुलाई समेट्ने हुँदा सहभागिहरु समेत सोहि मापदण्ड भएको हुँदा तालिममा माछापालन ब्यवसायले कृषकहरुको जिविकोपार्जन उकास्न टेवा पुर्याउने तथा युएनडिपीले गर्न सक्ने सहयोगमा पछि नहट्ने बताए ।
यस्तै सेवक नेपालका अध्यक्ष भण्डारीले घोडाघोडी क्षेत्रमा माछापालन ब्यवसायको राम्रो सम्भावना रहेको र यसले माघी होम स्टेलाई पनि थप फाईदा पुर्याउने हुँदा उद्यमीहरुले अपनत्वको भावना राखी तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गरि माछा तथा घोंघी पाल्नुपर्ने सहभागिहरुलाई सुझाएका थिए ।
सो परियोजनाले घोडाघोडी नगरपालिका वडा नं. ४ सिमथरीमा रहेको कल्पबृक्ष सामुदायिक बनमा रहेको पोखरीमा माछापालनका लागि आवश्यक पानी तान्ने मेसिन तथा पोखरी ब्यवस्थापन सामाग्री समेत उपलब्ध गराएको छ ।
नगरमा रहेका विपन्नवर्गहरु मध्ये २ सय ५० जनालाई छनौट गरि आयआर्जनमुलक कृषि तथा पशुपालन कार्यमा संलग्न गराई उद्यमीहरुको जिविकोपार्जनलाई टेवा पुर्याउने उदेश्यका साथ परियोजनाका कृयाकलापहरु संचालन गरिहेको परियोजना संयोजक इन्द्रराज जोशीले बताए ।

