कैलालीको गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनद्वारा तालाबन्दी
भाद्र २८ मसुरिया ।। कैलालीको गौरीगंगा नगरपालिकामा तालाबन्दी गरिएको छ। पाँच दलीय गठबन्धनले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो। नगरपालिका सँग ६ बुँदे माग राखेकोमा माग सम्बोधन गर्न नगरपालिकाले चासो नदेखाएको भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले सोमबार नगरपालिकामा तालाबन्दी गरेको बताईएको छ।
अनियमित तरिकाले रोयल्टी संकलन गरेको, आवश्यकता भन्दा बढी करारमा राखिएका कर्मचारीलाई हटाउनु पर्ने लगायतका गठबन्धनका मागहरु छन्। माग सम्बोधन नभएसम्म ताला नखोल्ने नगरपालिकालाई उनीहरुले चेतावनी समेत दिएका छन्। गत भदौ ५ गते पाँचवटै दलले संयुक्त गठबन्धनका तर्फबाट ज्ञापनपत्र बुझाउँदै ६ बुँदे माग अघि सारेका थिए ।