Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारीलाई विभेदमुक्त गाउँपालिका घोषणा

0 60

धनगढी, १४ फागुन । कैलालीको कैलारी गाउँपालिकालाई जातीय छुवाछुत र भेदभावमुक्त गाउँपालिका घोषणा गरिएको छ । थारु बहुल सो गाउँपालिकामा करिब ९० प्रतिशत जातीय छुवाछुत नरहेको एक अध्ययनले पुष्टि गरेपछि शनिबार एक समारोहकाबीच जातीय छुवाछुत तथा विभेदमुक्त गाउँपालिका घोषणा गरिएको हो । 
सो गाउँपालिकाको नौ वटै वडाको विभिन्न आठ क्षेत्रमा जातीय छुवाछुत र विभेदका बारेमा अध्ययन गरिएको थियो । सो अध्ययनले सामुदायिक पूर्वाधार क्षेत्रमा ९७ प्रतिशत, आर्थिक पूर्वाधार क्षेत्रमा ९८ प्रतिशत, धार्मिक क्षेत्रमा ६१ प्रतिशत, स्रोत सम्पदामा ६९ प्रतिशत विभेद नरहेको देखाएको छ । 
यसैगरी, सरकारी सेवा प्रदायक संस्थामा ९४ प्रतिशत, सामाजिक संघसंस्था र समूहमा ८४ प्रतिशत, संस्कृति र सम्बन्धमा ७१ प्रतिशत र निजी स्थानहरुमा ८० प्रतिशत विभेद नरहेको अध्ययनले देखाएको छ । समग्रमा ९० प्रतिशत छुवाछुत नरहेको पुष्टि भएपछि गाउँपालिकालाई जातीय छुवाछुत र विभेदमुक्त गाउँपालिका घोषणा गरिएको हो । 

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश सभा सदस्य वीरमान चौधरीले विभेदमुक्त गाउँपालिका घोषणा हुनु धेरै राम्रो कार्य रहेको बताए । उनले विभेदको अन्त्य नभएसम्म नेपाली जनताले सोंचेको नेपाल नबन्ने उल्लेख गरे । ‘विभेदले धेरै क्षेत्रलाई प्रभावित गर्ने गर्दछ’, उनले भने । ‘यसको अन्त्य नभएसम्म हामीले सोंचेको नेपाल बन्दैन ।’ 
चौधरीले दलित भएकै कारण विभेद गर्ने परिपाटीको अन्त्य अझैसम्म नभएको उल्लेख गरे । ‘अझै पनि केही मान्छेले कुकुरलाई ओछ्यानमा आफूसंगै सुताउँछन्  । तर, दलितलाई आफ्ना घरमा पस्न दिदैंनन्’ उनले भने ।
यस्तै, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले विभेदमुक्त गाउँपालिका घोषणामात्रै नभएर योजना पनि रहेको बताए । उनले मापदण्डभन्दा बढी साक्षरता प्रतिशत भएपछि साक्षर गाउँपालिका घोषणा गर्दा कतिपयले त्यसको विरोध गरेको भन्दै थपे–‘विभेदमुक्त गाउँपालिका घोषणा गर्दा पनि धेरैले विरोध गर्नेछन् । तर, यो बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको बिँड हो ।’ अध्यक्ष चौधरीले यो घोषणा चुनावको लागि नभएको स्पष्ट पारे । ‘चुनावका लागि हामीले यहाँ कसैलाई बोलाएका होइनौं । हामीले २०७४ सालदेखि नै गाउँपालिका विभेदमुक्त हुनुपर्छ भनेर धेरै अभियान चलाएर आज घोषणा गर्न सफल भएका हौं’, उनले भने । दुई वर्ष अगाडि नै गाउँपालिकालाई विभेदमुक्त घोषणा गर्ने प्रयास गरिए पनि कोरोना महामारीका कारण घोषणा गर्न नसकेको अध्यक्ष चौधरीले बताए । 
उनले कैलारी गाउँपालिकाभित्र समाजवादको अर्जुन दृष्टि देखि रहेको उल्लेख गर्दै अब कैलारीमा कसैले पनि कसैमाथि विभेद गर्न नपाइने बताए । ‘अब यहाँ बसाइँसराइँ गरेर आउने व्यक्तिले वडामा म विभेद गर्दैन भनेर प्रतिवद्धता जनाएपछिमात्रै यहाँ बस्न पाउँछन्’, उनले भने । ‘यदि, कसैले अटेर गरेर विभेद गर्छ भने सबै जना मिलेर दण्डित गर्नु पर्दछ ।’ उनले एक जातिले कुनै अर्को जातिलाई कुनै पनि नाममा विभेद गर्न नहुने बताए ।  
कार्यक्रममा दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेले विभेदमुक्त गाउँपालिका घोषणा गरेर कैलारी गाउँपालिकाले नमूना काम गरेको बताइन । उनले गाउँपालिकामा अझै पनि केही हद्सम्म विभेद कायम रहेको गाउँपालिकाले कानून बनाएर त्यसलाई न्यूनीकरण गर्ने विश्वास व्यक्त गरिन । 
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य होरीलाल चौधरी, माओवादी केन्द्रका दीपक सुनार, एमालेका कलेसु चौधरी, कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरी लगायतकाले बोलेका थिए । 
कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेलले सञ्चालन गरेको कार्यक्रममा सबै वडाका वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी, दलित समुदायका अगुवा, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । कैलारी गाउँपालिकालाई यसअघि साक्षर गाउँपालिका घोषणा गरिएको थियो । 

टिप्पणीहरू
Loading...