कैलारीमा सर्वदलीय कार्यदलद्वारा कृषिमा भएको क्षतिको अनुगमन
कैलाली, १० कार्तिक ।। बेमौसमी बाढीले कैलाली स्थित कैलारी गाउँपालिकामा धानबालीमा गरेको क्षतिको आज अनुगमन गरिएको छ । गाउँपालिकामा गठित सर्वदलीय कार्यदलले धानबालीमा भएको क्षतिको अनुगमन गरेको हो ।
कार्यदलका संयोजक कैलाशप्रसाद चौधरीको नेतृत्वमा वडा नम्बर ३, ४, ५ र ७ मा क्षतिको अनुगमन गरिएको कैलारी गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । बेमौसमी वर्षा र बाढीका कारण धानबालीमा पूर्ण रुपमा क्षति भएकाले किसानलाई राहतका लागि सिफारिस गर्ने जनाइएको छ ।
सबै वडामा भएको क्षतिको अनुगमन गरी कार्यदलले छलफल गरेर एउटा निष्कर्ष निकाल्ने र गाउँपालिकाले निर्णय गरेर राहतका लागि प्रदेश र सङ्घीय सरकारलाई विवरण पठाउने प्रवक्ता चौधरीले जनाए ।