कञ्चनपुर, १९ फागुन ।। कृष्णपुर नगरपालिकाले कृषकहरुलाई परिचयपत्र प्रदान गर्ने भएको छ । नगरपालिकाले कृषि ऐन २०७८ अन्र्तगत रहेका नगरपालिका भित्र रहेका कृषकहरुको पहिचान गरी उनिहरुलाई कृषक परिचय पत्र प्रदान गर्ने अभ्यास सुरु गर्न लागेको हो ।
कृषकहरुलाई परिचय पत्र प्रदानका लागी नगरपालिकाले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग सम्झौता गरेको छ । नगरपालिकाले नगरसभामा पास गरेको कृषि ऐन २०७८ अनुसार कृषकहरुको कृषि पेशा संरक्षणका लागी परिचय पत्र वितरण गर्ने योजना बनाईएको नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए । उनले महासंघ सँग परिचय पत्र वितरणका लागी अभ्यास थालिएको बताए ।
राज्यले अगिंकार गरेको कृषिनीतिमा उल्लेखित किसानको हकहित संरक्षण एवम् सम्वद्र्धन गर्दै किसानको पहिचान र वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराईने नगरप्रमुख हमालले बताए । उनले नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने उद्देश्यले पनि उक्त अभ्यास सुरु गरिएको बताए ।
नगरभित्रका सबै घरधुरीको तथ्यांक संकलन, ब्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि नगरपालिकासँग सम्झौता भएको महासंघका सुदुरपश्चिम अध्यक्ष प्रकाश थापाले जानकारी दिए । उनले केएर नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रकृया सहजीकरण गर्ने बताए ।
कृषि प्रणालीलाई दिगो बनाउनुका साथै यस क्षेत्रमा समतामुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसंग मिलेर महासंघले स्थानीय कृषि ऐन साथै किसान परिचयपत्रलाई अभियानको रुपमा अगाडि बढाउँदै आएको उनले बताए ।
उनले नेपालको संविधान प्रद्धत्त किसानको मौलिकहक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धीहकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा यसको मुल्य शृंखलामा सुशासन कायम गर्न पनि किसान परिचय पत्रको अभ्यास थालिएको बताए ।
उक्त अभ्यासले जोखिममा रहेका किसानलाई सेवा पहुँचमा अग्राधिकारको आधार तय गर्ने उनले बताए ।
