कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • कार्य सम्पादन मूल्याङ्कनमा नेपालकै उत्कृष्ट तीनमा कैलारी गाउँपालिका

    कार्य सम्पादन मूल्याङ्कनमा नेपालकै उत्कृष्ट तीनमा कैलारी गाउँपालिका
    Spread the love

    कैलाली, २२ फागुन ।। कैलालीको कैलारी गाउँपालिकाले कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट पालिकामध्ये नेपालमै तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकाले ७६.४९ अंक प्राप्त गरेर कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै तेस्रो स्थान प्राप्त गरेको हो ।

    प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार ७८.६९ अंक पाएर डडेल्धुराको अजयमेरु गाउँपालिका नेपालमै पहिलो स्थानमा छ । त्यस्तै, ७६.३८ अंक पाएको कञ्चनपुरको भीमदत्त नगरपालिका चौथो स्थानमा रहेको छ ।

    कैलालीमा रहेको १३ वटा स्थानीय तहमध्ये कैलारीले यहाँको स्थानीय तहलाई कार्य सम्पादनमा उछिनेकोमात्रै छैन, उत्कृष्ट पाँच पालिकामध्ये नेपालमै तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले ६८.८८ अंक प्राप्त गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे÷नगरेको, असार मासन्तभित्र बजेट पास गरे÷नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे÷नगरेको विषयमा मूल्यांकन गरेको थियो ।

    त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।

    आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरेको हो । यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD