कठरिया समाज नेपालले भेटघाट कार्यक्रम गर्ने
कैलाली, १९ कार्तिक ।। कठरिया समाज नेपालको आयोजनामा नेपालीहरुको महानपर्व शुभदिपावलीको अवसरमा एक दिने चियापान तथा भेटघाट कार्यक्रम हुने भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ सिसैयामा यहि कार्तिक २१ गते कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।
कठरिया समुदाय सँग सम्बन्धित विभिन्न बिषयमा बिचार बिमर्श गरिने उक्त कार्यक्रममा कठरिया समुदायका जनप्रतिनिधी, भलमन्सा, समाजसेवी, बुद्धिजिवी, राजनिज्ञ, शिक्षक, पत्रकार, उद्योगी–ब्यापारी, युवाहरु लगायत सम्पुर्ण समाजप्रेमीहरुलाई आमन्त्रण गरिएको कठरिया समाज नेपालका अध्यक्ष गया प्रसाद कठरियाले बताए ।
उनले लामो समय पश्चात कठरिया समुदाय सँग छलफलको कार्यक्रम आयोजना गरिएकाले सम्पुर्णको सहभागिताका लागि अनुरोध गरे । यस्तै, चियापान तथा भेटघाट कार्यक्रममा शुभकामना आदान प्रदान सहित कठरिया समाज नेपालले आज सम्म गरिरहेको सामाजिक गतिविधीहरुको बारेमा छलफल गरिने कोषाध्यक्ष सुरज कठरियाले बताए ।