पहलमानपुर, ३० भदाैं ।। कठरिया समाज नेपालकाे बार्षिक साधारणसभा कैलाली जिल्लाकाे जानकी गाउँपालिका वडा नं. ४ मुनुवामा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष दुखिराम कठरियाकाे सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी मुनुवा गाउँका ८८ बर्षिय जेष्ठ नागरिक, बुद्धिजीवी तथा संस्कृतिप्रेमी प्यारेलाल कठरिया रहेका थिए ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथी प्यारेलाल कठरियाले कठरिया समुदायका युवापिढी शिक्षित हुँदै गएपनि आफ्नाे माैलिकता संरक्षणमा खासै जाँगर नलगाएकाे बताए । उनले आफुहरु उमेरले पाकाे भईसकेकाले आफुले जानेबुझेकाे कला, सिपलाई पुस्तारण गराउने ठुलाे ईच्छा रहेकाे बताए । ‘के गर्नु आफुले सिकेका कुरा आजकालका केटाकेटीलाई सिकाउने रहर छ तर सिक्ने कस्ले ? हामी सँगै हाम्राे गितबाँस र पुर्खादिन देखिकाे माैलिकता हराएर जानेछ !’ उनले भने ।
कठरिया समाज नेपालका केन्द्रीय उपाध्यक्ष गीता कठरियाकाे स्वागत मन्तब्य सँगै सुरु भएकाे कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार प्रर्शु महताैं कठरिया, शिक्षक लाेकेन्द्र कठरिया, बुद्धिजीवी, समाजसेविहरु मानबहादुर कठरिया (मुनुवा), मानबहादुर कठरिया (चर्रा), कठरिया सन्देश पत्रिकाका प्रकाशक/सम्पादक राजेन्द्र कठरिया लगायतकाले मन्तब्य राखेका थिए ।
यस्तै संस्थाका काेषाध्यक्ष दिलबहादुर कठरियाले आर्थिक बर्ष २०७९/०८० काे ५८ हजार २ सय ७५ बराबरकाे आय/ब्यय विवरण प्रस्तुत गरेका थिए । साथै बार्षिक प्रगति प्रतिवेदन समेत काेषाध्यक्ष कठरियाले प्रस्तुत गरेकाे कार्यक्रममा जिल्लाका विभिन्न गाउँका कठरियाहरुकाे उत्साहजनक सहभागीता रहेकाे थियाे । उक्त साधारणसभाकाे संचालन संचारकर्मी टीआर कठरियाले गरेका थिए ।
