कठरिया सन्देश पत्रिकाको नयाँ अंक सार्वजनिक
पहलमानपुर, १५ कार्तिक ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुर बजारबाट प्रकाशित हुने कठरिया सन्देश साहित्यिक पत्रिकाको नयाँ अंक आज सार्बजनिक गरिएको छ । कठरिया थारु भाषाको एक मात्र साहित्यिक पत्रिकाको रुपमा रहेको सो पत्रिका आज नेपालीहरुको महानपर्व शुभदिपावलीको अवसर पारेर सार्वजनिक गरिएको हो ।
उक्त पत्रिकाको ५२ पेजको नयाँ अंकमा कठरिया थारु समुदायको परिचय, २०७८ सालको राष्ट्रिय जनगणना र कठरिया समुदाय, संचारमाध्यम र कठरिया समुदाय लगायतको विचार, कथा, कविता, गजल, मुक्तक, जनौनी, पखानका साथै मौलिक गितहरु समाबेश गरिएको प्रकाशक राजेन्द्र कठरियाले बताए ।
उनले कैलाली जिल्लाको पुर्बि क्षेत्रमा प्रमुख बासोबास रहेको कठरिया थारु समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका निम्ती कैलाली जिल्ला भरिका र छिमेकी भारतका कठरिया लेखकहरुको लेख, रचनालाई प्राथमिकताका साथ प्रकाशन गरेको बताए ।