कठरिया थारु जातीको “बन्ना अतबार” एक चर्चा
राजेन्द्र कठरिया ।। भाद्र शुक्ल पक्क्ष (उजेरी) पछिको पहिलो आईतबारलाई कठरिया थारु समुदायमा “बन्ना अतबार” को रुपमा मनाउने चलन छ । बन्ना अतबारलाई चाडपर्व भन्दा पनि एउटा पुजाको रुपमा मनाइने गरिन्छ ।
यस बर्ष बन्ना अतबार भदौ २७ गते पर्दैछ । यस दिन कठरिया थारु समुदायमा बिहान उठेर नुहाइ धुवाइ गरि एक थोपा पानी समेत नखाई निर्जला ब्रत बस्ने गरिन्छ । दिउंसो दिन ढलेपछि सांझपख घरका महिला दिदीबहिनीहरु नुहाइ धुवाई गरि भान्सा भन्दा बाहिर सफा ठाउँ उसार (बरण्डा) मा गाईको गोबरले लिपपोत गरि चोखो आगो बालेर खाना को रुपमा भात पकाउने गर्छन् । खानाको परिकाको रुपमा भात, कच्चि मिठाइ (भेली) र घ्यु हुने गर्दछ ।
पहिला घरका जो–जो सदस्यहरु ब्रत बसेका हुन्छन् तिनको भाग भात, कच्चि मिठाई र घ्यु थालमा परोसेर राखिन्छ । त्यसपछि घरका ब्रत बसेका सबै जना सदस्य पालैपालो आ–आफ्नो भागको थालबाट अलिअलि गरेर गाईको गोबरले लिपेर त्यहाँ बलेको कण्डी (सुकाएको गाईको गोबर) राखेर सररी काठको चुक्सि (सल्ला काठको धुलो) धुपको रुपमा चढाएर साथमा भात, कच्ची मिठाई, घ्यु, दुध र पानी चढाएर अगेरी गर्ने गरिन्छ ।
सबै जना अगेरी गरिसकेपछि ब्रत खोली कच्चि मिठाई तथा घ्यु संग भात खाने गर्दछन् । साथै मिठाई तथा घ्यु भात प्रसादको बाँड्ने चलन पनि छ । यस दिन नुन, तेल लगायत कुनै पनि मसला तथा तरकारि खाईदैन । सुर्यास्त भैसकेपछि पनि केहि खाना तथा पानी पिउना मिल्दैन् । अर्को दिन भोली पल्ट बिहान सबेरै उठेर सुर्य उदाइ सकेपछि नुहाइ धुवाइ गरेर एक पटक फेरि आँगनमा गाईको गोबरले लिपेर कण्डिको आगो राखी त्यसमा सररी काठको धुलो धुपको रुपमा चढाएर पानीले अगेरी गरिन्छ ।
यसलाई फरहार गर्ने भनिन्छ । फरहार गरिसकेपछि ब्रतालुहरु आफ्नो इच्छा मुताबिकको खाना खाना पाउने गर्दछन् । यसरी कठरिया थारु समुदायको बन्ना अतबारको ब्रत तथा पुजा पुरा हुन्छ । डंगौरा थारु समुदायमा भने यस दिनलाई अँटवारी पर्वको रुपमा मनाउने प्रचलन छ ।
कठरिया थारु समुदायमा बन्ना अतबारको ब्रतको धेरै महत्व हुन्छ । घरका प्रमुख ब्यक्तिले आफ्नो घरका सदस्यहरुको रोग ब्याधि, घाउ खटिरा नहोस् तथा घरमा सुख शान्ति तथा समृद्धि बनि रहोस् भनि मान्यता गरेका हुन्छन् । त्यहि मान्यता पुरा होस् भनि यो ब्रत बस्ने गरिन्छ ।
घोडाघोडी न.पा. १० पहलमानपुर, कैलाली