कञ्चनपुर, १ चैत ।। कञ्चनपुरको लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’को अवधारण अघि सारेको छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले पार्क निर्माण गरिएको हो ।
पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको हो। गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन्।
आकर्षक रङ लगाएर पार्कमा ज्यामितीय गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्नसक्ने तरिकाबाट राखिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले जानकारी दिए। विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहजरूपमा बुझ्ने भएकाले पार्क निर्माण गरी गुणस्तरीय शिक्षाका लागि कार्य अगाडि बढाइएको उनले बताए।
“विद्यालयमा बिहानीको प्रार्थनापश्चात् कक्षाकोठामा प्रवेश गर्नुअघि अनिवार्यरूपमा विद्यार्थीलाई पार्कको अवलोकन गर्न लगाउने व्यवस्था विद्यालयले मिलाएका छन्। पार्कमै गणित विषयका शिक्षकले विद्यार्थीलाई सिकाउँदछन्”, उनले भने, “गणितलाई जटिल विषयका रूपमा हेर्ने गरिएकाले जटिलता हटाउनका लागि यस कार्यले सघाउ पुर्याउने विश्वास लिएका छौँ।”
विद्यार्थीले पार्कमा निर्माण गरिएका गणित विषयवस्तुका रूपमा रहेका रेखा, कोण र तिनबाट निर्मित आकृतिको अध्ययन गर्न सक्छन्। वृत्त, चतुर्भुज र त्रिभुजलगायतका ज्यामितीय आकार र घन, वेलना र गोलाजस्ता केही जटिल आकार जुन ज्यामितीय गणितमा अध्ययन गरिन्छ। ज्यामितीय गणितको अध्ययनका कार्यलाई सरलीकृत गर्नका लागि गणित पार्कमा आकृतिहरू निर्माण गरिएको जनाइएको छ।

