कैलाली, ११ फागुन ।। कैलालीको घोडाघोडी नगरपालिकाकी उप–प्रमुख प्रेम कुमारी थापाले सार्वजनिक कार्यक्रममा बोलाएर आफ्नो अपमान गरेको भन्दै आक्रोश ब्यक्त गरेकी छिन् ।
आफुलाई कार्यक्रममा बोलाएर आसन ग्रहण नगराएको भन्दै उनले आयोजक संस्थाप्रति कार्यक्रममै आक्रोश व्यक्त गरेकी हुन् ।राष्ट्रिय महिला आयोगले मंगलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा सबै जनप्रतिनिधि र अतिथिहरुलाई आसन ग्रहण गराइरहेका बेला आफुलाई मात्रै नगराएको प्रती उनले आक्रोश व्यक्त गरेकी हुन् ।
‘कार्यक्रममा बोलाएर मेरो अपमान गर्ने ? यो अपमान तपाईंको पनि हो,’ आयोजकमाथि आक्रोश पोख्दै थापाले कार्यक्रममै भनिन्, ‘१३ वटै पालिकाका प्रमुख तथा उपप्रमुखलाई बोलाइरहँदा मलाई मात्रै किन आसन ग्रहण गाराइएन ?’
उनले आफुलाई संसारभरी सबैले चिनी रहदा कार्यक्रममा बोलाएर पनि आसन ग्रहण नगराएकोमा अपमानित महसुस भएको बताइन् ।यता आयोजकले भने चिन्न नसकेर मात्रै आसन ग्रहण गराउन नसकेको भन्दै क्षमा मागेको छ ।
केही समयअघि एउटा शिलालेखमा मेयरको मात्र नाम उल्लेख गरेर आफ्नो नाम उल्लेख नगरेको भन्दै प्रतिकारस्वरुप ढुंगा प्रहार गर्ने उपप्रमुख पनि मै हुँ भन्दै उनले त्यतिबेलादेखि सबैले चिनेको दाबी गरिन् ।
घोडाघोडी नगरपालिकाको वडा नम्बर ७ को भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले शिलालेखमा ढुंगा प्रहार गरिरहेको भिडियो भाइरल बनेको थियो ।
