कैलाली, १७ फागुन ।। बस्तु व्यापारको नाममा अवैध नेटवर्किङ व्यवसाय गर्दै आएको आरएनसी ट्रेडिङ प्रा.ली.को प्रधान कार्यालयमा आन्तरिक राजस्व कार्यालयले छापा हानेको छ । सुदूरपश्चिमका ९ सहित कोहलपुर, सुर्खेत र दैलेखमा शाखा कार्यालय रहेको यसको प्रधान कार्यालय भने कैलालीको बर्दगोरियामा छ ।
आरएनसीको अवैध नेटवर्किङ बारे विभिन्न सञ्चारमाध्यमहरूमा समाचार सम्प्रेषण भए पछि राजस्वको ध्यान केन्द्रित भएको हो । आन्तरिक राजस्व कार्यालय धनगढीको टोलीले बुधवार कार्यालयमा छापा हान्दै सबै कागजात बरामद गरेको छ । आरएनसीले अवैध नेटवर्किङ व्यवसाय सँगै ठुलो मात्रामा कर छली गरेको तथा आवश्यक कानुनी प्रक्रिया पुरा नगरी मनोमानी रूपमा काम गरेको पाइएको छ ।
अहिले नै यस्तै हो भन्न सक्ने अवस्था छैन । हामीले कागजात नियन्त्रणमा लिएका छौ । आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत विदुर चुडालले भने,… “हामी अनुसन्धान गर्दै छौ । उनीहरूलाई आइतबार कार्यालयमा बोलाएका छौ । केही न केही त गलत छ भन्ने हाम्रो प्रारम्भिक अनुमान छ । ऐन कानुन विपरीतका धेरै कुराहरू फेला परेका छन् । बाँकी अनुसन्धान पछि थाहा हुन्छ ।”
आरएनसीले ५ हजार देखी २० हजार सम्मका विभिन्न स्किममा सदस्यता दिने गरेको छ । जुन बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ विपरीत हो । ऐनको दफा ११ मा पिरामिड शैलीको व्यापार गर्न नहुने व्यवस्था छ । दफा ११ मा वस्तु खरिद गर्नु पूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनु पर्ने अवस्था भएको सञ्जाल युक्त कार्य तथा एक बस्तु खरिद गर्दा अन्य बस्तु समेत एकमुष्ट प्याकेजमा खरिद गर्नु पर्ने सञ्जालयुक्त कार्यलाई नेटवर्किङ व्यवसायका रूपमा परिभाषित गरेको छ ।
ऐनमा भएको व्यवस्था विपरीत कार्य गर्ने बिक्रेता वा वितरकलाई सरकारले ५ लाख रुपैयाँ सम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । आरएनसीले प्रतिव्यक्ति १० हजार होस्टेल शुल्क समेत उठाउँदै आएको छ ।

